जनता टाइम्स

४ माघ २०८२, आईतवार २०:५३

युवालाई प्राथमिकता दिएको एमालेकाे अर्काे सन्देश : ताप्लेजुङबाट क्षितिज थेबेलाई बनायाे उम्मेदवार


काठमाडौं, माघ ४ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहनुभएका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो। हिजो बसेको सचिवालय बैठकले सो निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गर्नुभएको हो।

यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराई निर्वाचित हुनुभएको थियो। यस पटक भने पार्टीले युवा नेतृत्वलाई अघि सार्दै थेबेलाई उम्मेदवार बनाएको छ। एमालेले गरेको यो निर्णयले पार्टीभित्र युवालाई प्राथमिकता दिने नीति अझ स्पष्ट भएको नेताहरू बताउँछन्।

थेबेलाई पार्टी र जनसंगठनमा जुझारु तथा वैचारिक रूपमा सक्षम नेताका रूपमा लिइन्छ। पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेका बेला उहाँ दृढताका साथ अगाडि उभिनुभएको नेताहरूको भनाइ छ। यस्ता कठिन समयमा देखाउनुभएको प्रतिबद्धता, सक्रियता र संगठनप्रतिको निष्ठालाई मूल्याङ्कन गर्दै पार्टीले उहाँलाई उम्मेदवार बनाएको एमालेको बुझाइ छ।

थेबेको उम्मेदवारीमार्फत एमालेले युवाको भावना, योगदान र जुझारुपनप्रति सम्मान व्यक्त गरेको सन्देश गएको पार्टीका नेताहरूले बताएका छन्।