दाङ, माघ ४ । नेकपा (एमाले) ले दाङ क्षेत्र नम्बर २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयन पत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ ।
हिजो बसेको सचिवालय बैठकले दाङ क्षेत्र नम्बर २ को उम्मेदवार टुङ्ग्याउने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई प्रदान गरेको थियो । सोही निर्णयअनुसार महासचिव पोखरेललाई उम्मेदवार बनाउने टुङ्गो लागेसँगै अन्योल समाप्त भएको छ ।
यसअघि पोखरेल उम्मेदवार बन्दै आएको क्षेत्रमा उम्मेदवार नटुङ्गिँदा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा को उम्मेदवार हुने ? भन्ने विषयमा चौतर्फी चासो व्यक्त हुँदै आएको थियो । अब भने उम्मेदवारी टुङ्गिएसँगै निर्वाचनको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ ।
२०५१ सालको मध्यावधि निर्वाचनमा यसै क्षेत्रबाट विजयी हुनुभएका पोखरेल त्यसयता यही क्षेत्रको प्रतिनिधित्व गर्दै आउनु भएको छ । २०७४ सालको निर्वाचनमा उहाँ यसै क्षेत्रअन्तर्गत प्रदेश सभा १ बाट विजयी भई लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।
जिल्लाको विकास र समृद्धिका ‘रोल मोडेल’ का रूपमा लिइने पोखरेलले पूर्वाधार, सेवा प्रवाह र समन्वयमा सक्रिय भूमिका खेल्दै आएको स्थानीयको भनाइ छ । पोखरेल उम्मेदवार बन्ने खबरसँगै दाङका नागरिकहरू उत्साहित देखिएका छन् ।













प्रतिक्रिया दिनुहोस्