जनता टाइम्स

४ माघ २०८२, आईतवार २१:४८

चार दशकको निष्ठा र अनुभवसहित खोटाङबाट एमाले बनायाे देवविक्रम राईलाई उम्मेदवार  


काठमाडौं, माघ ४। नेकपा (एमाले)का जिल्ला कमिटी अध्यक्षसमेत रहनुभएका देवविक्रम राईले चार दशकभन्दा अघिदेखि पार्टीको निष्ठावान सिपाहीका रूपमा काम गर्दै आएको यात्राको निरन्तरताका रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ।

पार्टीले आफूलाई उम्मेदवारको रूपमा अघि सारेकोमा राईले आभार व्यक्त गर्नुभएको छ। उहाँले पार्टी केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण केन्द्रीय नेतृत्वप्रति कृतज्ञता प्रकट गर्दै खोटाङ जिल्लाका पार्टी नेता, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज विशाल भट्टराई, केन्द्रीय कमिटी सदस्यहरू उषाकला राई र वीणादेवी राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्णबहादुर घलेप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।

त्यसैगरी निवर्तमान केन्द्रीय सदस्यहरू खगेन्द्र राई र रमेश पौडेल, निवर्तमान केन्द्रीय सल्लाहकार हरि पोखरेल, प्रदेश कमिटीका उपसचिव देवान राई, पार्टी नेता तथा प्रदेश सभा सदस्य पिके राई, पूर्व जिल्ला अध्यक्ष राम दंगाल, प्रदेश कमिटीका सम्पूर्ण नेता, जिल्ला कमिटीका सम्पूर्ण सहयोध्दा र जिल्लाभरिका पार्टी पङ्तिप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ।

आफ्नो उम्मेदवारीबारे धारणा राख्दै राईले आफूले सुरुमै विजयको शिखर चुमिसकेको अनुभूति भएको बताउनुभएको छ। उहाँले देश र जनताप्रति बफादार पार्टी, संकटको घडीमा केन्द्रदेखि जिल्लासम्म ढाल बनेर उभिने नेताहरू, इमानदार र निष्ठावान कार्यकर्ताहरू तथा विकासप्रेमी जनता नै आफ्नो सबैभन्दा ठुलो शक्ति भएका स्पष्ट पार्नु भएकाे छ ।

धैर्य, इमान, निष्ठा र पूर्ण आत्मविश्वासलाई आफ्नो राजनीतिक यात्राको आधार मान्नुभएका राईले खोटाङको समग्र विकास र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। एमालेभित्र लामो समय संगठन निर्माणमा सक्रिय भूमिका खेलेर जिल्लाको नेतृत्व सम्हाल्दै आउनुभएका राईको उम्मेदवारीलाई पार्टीभित्र अनुभव, निष्ठा र निरन्तरताको प्रतीकका रूपमा हेरिएको छ।

खोटाङमा एमालेको संगठनलाई अझ सुदृढ बनाउँदै विकास र सुशासनको एजेन्डालाई मजबुत रूपमा अघि बढाउने विश्वासका साथ पार्टीले राईलाई उम्मेदवार बनाएको बताइएको छ।