काठमाडौं, माघ ५ । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले ओखलढुंगाबाट २८ वर्षीया अस्मिता थापालाई उम्मेदवार बनाएको छ। उहाँ एमालेबाट टिकट पाउने कान्छी उम्मेदवार बन्नुभएको छ।
पार्टीभित्र पुस्तान्तरण र राजनीतिक रूपान्तरणको बहस चलिरहेका बेला थापाको उम्मेदवारीलाई एमालेले ‘नयाँ पुस्ताको प्रतिनिधित्व’ का रूपमा प्रस्तुत गरेको छ। ओखलढुंगाकाे लिखु गाउँपालिका उपाध्यक्ष छाडेर थापा प्रतिनिधि सभा चुनाव लड्न लाग्नु भएकाे हाे । थपा एमालेकी सबैभन्दा कान्छी उपाध्यक्ष हुनुहुन्थ्याे ।
पार्टी, विचार र व्यक्ति फरक हुन सक्ने भए पनि अस्मिता थापा संघर्षको मैदानमै हुर्किएको, परिस्थितिले निर्माण गरेको अनुहार भएको एमाले नेताहरूको भनाइ छ। ओखलढुंगामा अब केवल पुस्तान्तरण मात्र होइन, सिङ्गो जिल्लाको मुहार फेर्ने नयाँ युवा नेतृत्वको खोजी भइरहेको सन्दर्भमा उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
ओखलढुंगाको साविक ७ नम्बर इलाका २०४८ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनको राजनीतिक विरासत रहँदै आएको छ। लोककृष्ण भट्टराई, बालकृष्ण ढुंगेल, नानीबाबु बुढाथोकी, मोहन खड्का र बाबुराम गौमतजस्ता नेताहरूले अघि बढाएको परम्परालाई निरन्तरता दिँदै अहिले जेन–जी पुस्ताकी नेतृ अस्मिता थापा अगाडि आउनु स्थानीयस्तरमा उत्साहको विषय बनेको छ।
‘लिखुकी छोरी, आफ्नै दिदी, बहिनी र बुहारी’ का रूपमा चिनिनुहुने थापालाई उम्मेदवार बनाउने निर्णयले ओखलढुंगावासीमा अपनत्वको भावना थप बलियो बनाएको स्थानीय एमाले कार्यकर्ताहरू बताउँछन्। उनीहरूका अनुसार, यो उम्मेदवारी कुनै एक व्यक्तिको मात्र नभइ, जिल्लाभरि फैलिएको युवाको चाहना र आकांक्षाको प्रतिनिधित्व हो।
अस्मिता थापा नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्यसमेत हुनुहुन्छ। केन्द्रीय कमिटीमा पनि उहाँ सबैभन्दा कान्छी सदस्यका रूपमा चिनिनुहुन्छ। अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहँदै गर्दा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर विजयी हुनुभएकी उहाँले छोटो समयमै उल्लेखनीय राजनीतिक यात्रा तय गर्नुभएको छ।
एमालेले थापालाई उम्मेदवार बनाएसँगै ओखलढुंगामा युवामैत्री एजेन्डा, स्थानीय विकास, रोजगारी, शिक्षा र सुशासनलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने तयारी गरेको जनाएको छ। पार्टी नेतृत्वले युवा जोश र संगठनात्मक अनुभवको संयोजनका रूपमा थापाको उम्मेदवारीलाई हेरेको बताइएको छ।
यसैबीच, प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि अस्मिता थापाले लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको छ। स्थानीय तहको जिम्मेवारी छाडेर संघीय संसदमा जनताको प्रतिनिधित्व गर्ने यात्रामा होमिनु उहाँको राजनीतिक प्रतिबद्धताको अर्को चरण भएको एमालेको बुझाइ छ।
युवाशक्ति, संगठनात्मक अनुभव र राजनीतिक दृढताको संगमका रूपमा हेरिएको अस्मिता थापाको उम्मेदवारीले ओखलढुंगाको आगामी राजनीतिक दिशामा कस्तो प्रभाव पार्नेछ भन्ने चासो अहिले जिल्लाभरि बढ्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्