काठमाडौं, माघ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जलाउने र भत्काउने प्रवृत्तिबाट राष्ट्रलाई जोगाउँदै विकासको दिशामा अघि बढाउन आफूले पुनः देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।
सोमबार झापाको दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले भत्काउने र जलाउने कामबाट देश नबन्ने स्पष्ट पार्नुभयो । ‘भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र विकास गर्न म पुनः झापा–५ बाट उम्मेदवार भएर आएको हुँ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले झापा–५ मा निर्वाचन कसले जित्ने भन्ने फैसला जनताले नै गर्ने उल्लेख गर्दै जनताको निर्णय हेर्न आफू पुनः चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो ।
उहाँले आसन्न निर्वाचनका लागि एमालेले टिकट वितरण पारदर्शी रूपमा गरेको दाबी गर्नुभयो । पारदर्शिताकै कारण पार्टीभित्र छलफल, तर्क–वितर्क र त्यससँगै हल्लाखल्ला हुने गरेको उहाँको भनाइ थियो । ‘अरूले के गर्छन् थाहा नै हुँदैन, हाम्रामा छलफल हुन्छ, तर्क–वितर्क हुन्छ, त्यसैले हल्लाखल्ला पनि हुन्छ,’ उहाँले भन्नुभयो ।
लाखौँ कार्यकर्ता भएको पार्टीमा सबैलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीले आवश्यक मूल्याङ्कन र तौल गरेर नै टिकट वितरण गरेको बताउनुभयो ।
केही व्यक्तिहरू आफूलाई ‘भिलेन’ करार गर्न खोजिरहेको टिप्पणी गर्दै उहाँले त्यसको कारण एमालेले गरेको विकासबाट केही मानिस आत्तिएको दाबी गर्नुभयो । ‘हामीले गरेको विकासबाट आत्तिएर केही मानिसहरूले हामीलाई भिलेन करार गर्न खोजेका छन्, तर यो सम्भव छैन,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले केही स्थानमा अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । तर झापामा भने राप्रपासँग तालमेलको विषयमा कुनै सोच नभएको स्पष्ट पार्नुभयो । ‘केही स्थानमा चुनावी तालमेल हुन सक्छ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्