जनता टाइम्स

६ माघ २०८२, मंगलवार ०९:१७

एमाले अध्यक्ष केपी ओलीको सन्देश: ‘हराएका सपना पुनर्जीवित गर्दै सुन्दर भविष्य निर्माणको यात्रा आजबाट सुरु’


काठमाडौं, माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई नेपाली जनताका लागि ‘विशेष दिन’ को रूपमा व्याख्या गर्दै आशा, भरोसा र भविष्य निर्माणको सन्देश दिनुभएको छ।

अध्यक्ष ओलीले शुभ विहानी सन्देशमार्फत हराएका र भत्किएका सपनाहरूलाई पुनः जागृत गर्दै सुन्दर भविष्य निर्माणको ‘रोपाइँ’ आजबाट सुरु भएको बताउनुभएको हो। उहाँले नेपाली जनताको सामूहिक प्रयास र विश्वासका कारण अन्ततः नेपालीले जित्ने र नेपालले जित्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचानकाे लागि आज प्रत्यक्ष तर्फ देश भरका १ सय ६५ निर्वाचन क्षेत्रमा नै मनाेनयन दर्ता हुँदै छ । साेही सन्दर्भमा ओलीकाे याे सन्देश आएकाे हाे । ‘हामीलाई पूरा विश्वास छ-हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ,’ अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ।

उहाँले विगतमा जलेका सपनाहरूलाई पुनः जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने संकल्प व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले देशको भविष्य निर्माणको यात्रामा सबै नेपाली एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय एकता र सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभएको छ। उहाँले सन्देशमा ‘हामी नेपाली सबैको जय होस्’ भन्दै आशावाद र आत्मविश्वास प्रकट गर्नुभएको छ।

एमाले अध्यक्ष ओलीको यो सन्देशलाई आगामी राजनीतिक यात्रा, परिवर्तन र भविष्यप्रतिको आशालाई जोड्ने प्रेरणादायी अभिव्यक्तिका रूपमा हेरिएको छ।