जनता टाइम्स

६ माघ २०८२, मंगलवार २०:११

निर्वाचनमा सरकार र विभिन्न शक्ति केन्द्रले धाँधली गर्ने दुष्साहस र षड्यन्त्र गरिरहेका छन्  : पार्वत गुरुङ


दोलखा, माघ ६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउनुभएका एमाले नेता पार्वत गुरुङले अहिलेकाे निर्वाचन सहज परिस्थितिमा नभएको बताउनुभएको छ।

मंगलबार चरिकोटमा आयोजित कार्यक्रममा बोल्दै नेता गुरुङले लोकतन्त्र अपदस्त भएको र देश प्रतिगमनतर्फ धकेलिएको अवस्थामा चुनाव हुन लागेकाे बताउनुभयाे। उहाँले भन्नुभयो, ‘यो सहज परिस्थितिमा निर्वाचन भएको छैन, लोकतन्त्र अपदस्त भएको छ, प्रतिक्रान्ति भएको छ।’

निर्वाचन प्रक्रिया निष्पक्ष नहुने आशंका व्यक्त गर्दै उहाँले सरकार र विभिन्न शक्ति केन्द्रहरूले धाँधलीपूर्ण तरिकाले निर्वाचनलाई प्रभावित पार्ने दुष्साहस र षड्यन्त्र गरिरहेका दाबी गर्नुभयो। ‘यो निर्वाचन त्यति सहज छैन, निर्वाचनमा सरकार र विभिन्न शक्ति केन्द्रले धाँधली गर्ने दुष्साहस र षड्यन्त्र गरिरहेका छन्,’ उहाँको भनाइ छ ।

एमालेको राजनीतिक चरित्रप्रति प्रकाश पार्दै नेता गुरुङले नेकपा एमाले जस्तोसुकै संकटको घडीमा पनि सतिसालझैँ उभिइरहने पार्टी भएको उल्लेख गर्नुभयो। ‘जस्तोसुकै दुःख र अप्ठ्यारोमा पनि एमाले उभिन्छ,’ उहाँले भन्नुभयो।

एमाले निर्वाचनबाट भाग्न खाेजेकाे भनि गरिएको दुष्प्रचारको खण्डन गर्दै उहाँले पार्टी सधैँ निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएको स्पष्ट पार्नुभयो। ‘एमाले चुनावबाट भाग्छ भन्ने दुष्प्रचार गरिएको थियो, तर एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिन्छ, त्यसैले एमाले यो निर्वाचनमा भाग लिन आएको छ,’ नेता गुरुङले जोड दिनुभयो।