सिन्धुली, माघ ६ । सिन्धुली जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेर मनोनयन दर्ता भएकाे छ ।
सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ का विरुद्ध पार्टी नेता पत्रकार महेश्वर दाहालले विद्रोहीका रूपमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकी आधिकारिक उम्मेदवार शुशिला थिङका विरुद्ध कांग्रेसकै खड्गबहादुर वाईवाले उम्मेदवारी दर्ता गराउनुभएको छ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
नेकपा एमालेले निर्वाचन क्षेत्र नं. १ बाट प्रदीपकुमार कटुवाल र क्षेत्र नं. २ बाट मनोजजंग थापालाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट उज्जल बराल र क्षेत्र नं. २ बाट शुशिला थिङलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ मा धनेन्द्र कार्की र क्षेत्र नं. २ मा आशिष गजुरेललाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं. १ मा रामनारायण अधिकारी र क्षेत्र नं. २ मा डा. मुकुन्द गजुरेललाई उम्मेदवार बनाएको छ।
यसका अतिरिक्त सिन्धुलीका दुवै निर्वाचन क्षेत्रमा अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता सम्पन्न भएसँगै जिल्लामा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्