दमक (झापा), माघ ६ । नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर–५ मा अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारी दिनबाट वञ्चित गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले एमालेका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको दाबी गर्दै खेद व्यक्त गरेको छ।
नेकपा (एमाले) झापा क्षेत्र नं.–५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायणप्रसाद गौतमले मंगलबार साँझ जारी गर्नुभएको विज्ञप्तिमा रास्वपा कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित निर्वाचन हुने विषयमा गम्भीर शंका उत्पन्न भएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि आज देशभर उल्लासमय रूपमा उम्मेदवारी मनोनयन भइरहेको बेला झापा क्षेत्र नम्बर–५ अन्तर्गत दमकमा दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताद्वारा हाम्रो पार्टी नेकपा (एमाले)का नेता तथा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणप्रति हामी खेद व्यक्त गर्दछौँ।’
निर्वाचन आयोगले तोकिदिएको सीमालाई मिच्दै अध्यक्ष तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार केपी शर्मा ओलीलाई मनोनयन दर्ता गर्न नदिने नियतले आक्रमण गरिएको दाबी एमालेले गरेको छ। सो आक्रमणमा एमालेका तीन जना नेता–कार्यकर्ता घाइते भएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको विज्ञप्तिमा उल्लेख छ।
एमालेले हाल देशको सुरक्षा अवस्था प्रति पनि चिन्ता व्यक्त गरेको छ। ‘जेन–जी उपद्रवका क्रममा लुटिएका सुरक्षाकर्मीका सयौँ हातहतियार अझै बाहिरै रहेको, आपराधिक पृष्ठभूमिका कैदीबन्दीहरू बाहिर रहेको अवस्थामा भयरहित र शान्तिपूर्ण चुनाव हुने विषयमा पार्टीले शंका व्यक्त गर्दै आएको छ, दमकमा आज भएको घटनाले त्यो शंकालाई थप पुष्टि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिअनुसार सांघातिक आक्रमणसँगै दुई जना एमाले कार्यकर्ताका सुनका सिक्रीसमेत लुटिएको दाबी गरिएको छ। उत्पन्न परिस्थितिप्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै एमालेले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
एमाले जिम्मेवार पार्टी भएको उल्लेख गर्दै विज्ञप्तिमा आफ्ना नेता तथा कार्यकर्ताहरू संयमित ढंगबाट चुनावी प्रक्रियामा सहभागी भइरहेको बताइएको छ। तर, पार्टीको संयमतालाई कमजोरीका रूपमा लिइए भविष्यमा जुनसुकै परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी रास्वपा र सरकार स्वयं हुने पूर्वसचेत गराइएको छ।
समाजमा अराजकता फैलाउने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न एमालेले सरकारसँग आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्