जनता टाइम्स

७ माघ २०८२, बुधबार ०८:४९

प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


काठमाडौं, माघ ७ । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।

आयोगका अनुसार उजुरी दर्तापछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णय गर्दै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने समय तोकेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार मनोनयन कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार यस प्रणालीतर्फ कुल २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको छ ।

मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । बाँकी निर्वाचन कार्यक्रम पनि सहयोगपूर्ण वातावरणमा सम्पन्न हुनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल उम्मेदवारमध्ये ३ सय ३६ जना महिला र २ हजार ५ सय ८९ जना पुरुष छन् । यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।