जनता टाइम्स

७ माघ २०८२, बुधबार १२:५९

डोटीबाट मनोनयन दर्ता गरे पछि एमाले युवा नेता दीपक धामीको अनुरोध: ‘धेरै पटक आसमा बस्यौँ, यसपटक भरोसा गरिहेरौँ’


काठमाडौं, माघ ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट उम्मेदवारी मनोनयन दर्ता गराएपछि नेकपा (एमाले) का युवा नेता दीपक धामीले आफ्नो सम्पूर्ण ऊर्जा जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै धामीले आफू डोटीबाट प्रतिनिधिसभा सदस्यको युवा उम्मेदवारका रूपमा औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले आफ्नो उमेर, समय, श्रम र सिप डोटेली जनताको जीवन परिवर्तनका लागि खर्चिने दृढ अठोट लिएको उल्लेख गर्नुभयो ।

आगामी निर्वाचनमा नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गरी विजयी गराइदिन उहाँले सम्पूर्ण डोटेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष विनम्र अनुरोध गर्नुभएको छ । साथै सुख–दुःखका हरेक घडीमा जनतासँगै रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

डोटीको यथार्थ चित्रण गर्दै धामीले जिल्लाले धेरै नेतालाई देशको सर्वोच्च निकायसम्म पुर्‍याए पनि समयानुकूल विकासको लाभ लिन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार आज पनि डोटीका धेरै स्थानमा इन्टरनेट सेवा विस्तार हुन सकेको छैन भने सुत्केरी महिला र बिरामीलाई स्टेचरमा बोकेर स्वास्थ्य चौकी पुर्‍याउनुपर्ने बाध्यता कायमै छ । ‘स्वास्थ्य चौकीमा सिटामोल नै सबै रोगको उपचार बनेको तितो यथार्थ छ,’ उहाँले भन्नुभयो ।

धामीले कच्ची सडक नपुगेका बस्ती, गुणस्तरीय शिक्षा अभावका कारण निजी विद्यालयको महँगो शुल्क बेहोर्न बाध्य अभिभावक, छाेराछोरीलाई होस्टेल र सहरका कोठामा राखेर पढाउनुपर्ने अवस्था र रोजगारीका लागि भारततर्फ जाने युवाको बाध्यताले डोटीको पीडा झल्काउने बताउनुभयो । कृषिमा निर्भर परिवारका लागि पनि बाटो, ढुवानी, सहुलियत र कर्जाका समस्या अझै समाधान हुन नसकेको उहाँको भनाइ छ ।

‘डोटेली जनताले धेरै मागेका छैनन्, यी आधारभूत समस्याको समयमै कार्यान्वयन हुन सके डोटी प्राकृतिक मात्र होइन, मानवीय दृष्टिले पनि धनी जिल्ला बन्न सक्छ,’ धामीले भन्नुभयो ।

डोटीले धरैलाई हरेकाे भन्दै उहाँले यस पटक युवालाई साथ दिएर हेर्न आग्रह गर्नु भएकाे छ । ‘यसपटक युवालाई साथ दिएर हेरौँ, धेरै पटक आसमा बस्यौँ, यसपटक भरोसा गरिहेरौँ’, उहाँकाे अनुराेध छ ।

युवा उम्मेदवार धामीले डोटीको विकास, रोजगारी सिर्जना र अवसर विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै जनताको भरोसामा आधारित राजनीति अघि बढाउने स्पष्ट पार्नुभएको छ ।