काठमाडौ, माघ ७। अभियन्ता दुर्गा प्रसाईँले आफू व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि बोलेको दाबी गर्दै साँचो बोल्नेहरूको मुख बन्द गरेर देश नबच्ने चेतावनी दिनुभएको छ ।
आफ्नो धारणा सार्वजनिक गर्दै प्रसाईँले देशको विषयमा बोल्दा थुन्ने प्रयास भए त्यसले सत्ताधारीहरूलाई देशप्रति माया नभएको प्रमाणित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले मेरो लागि होइन, देशको लागि बोलेको हुँ, देशको कुरा गर्दा मलाई थुन्छौ भने त्यसको अर्थ तिमीहरूलाई देशको माया छैन ।’
प्रसाईँले बोल्ने व्यक्तिबाट नभई देश बेच्ने प्रवृत्ति खतरा हुने उल्लेख गर्दै सिंहदरबार जलाउने, राज्य व्यवस्थामाथि खेलबाड गर्ने र जनतामाथि अन्याय गर्ने तत्त्वबाट वास्तविक जोखिम भएको दाबी गर्नुभयो । ‘मलाई थुन्ने होइन, राज्यसँग खेलबाड गर्ने यिनलाई थुन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले चुनाव गराउन आएका मन्त्रीहरूको भूमिकामाथि प्रश्न उठाउँदै सत्ताको कुर्सी मोहले अभिभावकीय जिम्मेवारीसमेत गुमाएको आरोप लगाउनुभयो । ‘तिमीहरू सच्चा अभिभावक त हुन सकेनौ, सच्चा नागरिक नै बन्न सकेनौ,’ प्रसाईँको टिप्पणी छ ।
संसद् र राज्य संयन्त्रप्रति सङ्केत गर्दै उहाँले प्रमाण भएको दाबी गरेर सार्वजनिक स्थलमा कागज देखाउनेहरूलाई किन कारबाही नहुने भन्दै प्रश्न गर्नुभयो । साइबर अपराधसम्बन्धी कानुनको प्रयोग चयनात्मक भइरहेको आरोपसमेत उहाँले लगाउनुभयो ।
प्रसाईँले आफू नडराउने र देशका लागि निरन्तर बोलिरहने स्पष्ट पार्दै ‘अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्ति’ बाट सजग हुन आह्वान गर्नुभयो । भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने प्रयासलाई खतरनाक भन्दै त्यसलाई चिन्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले वर्तमान अवस्था कुर्सीको खेल नभई देशको भविष्यको लडाइँ भएको उल्लेख गर्दै लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउन एकता, अनुशासन र राष्ट्र प्रेम अपरिहार्य भएको धारणा राख्नुभयो । साथै उहाँले ‘राजा बिना देश बन्दैन’ भन्ने अभिव्यक्ति दिँदै देशलाई सही बाटोमा ल्याउन नयाँ राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभयो ।
अन्त्यमा प्रसाईँले ‘देश बचाऔँ, नेपाल बचाऔँ’ भन्दै आफ्नो अभियान देश बचाउने लडाइँ भएको स्पष्ट पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्