जनता टाइम्स

७ माघ २०८२, बुधबार २०:५५

देशको रक्षा र प्रतिकूलताको सामना गर्ने पार्टी नेकपा एमाले : केपी ओली


दमक, माघ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षा गर्ने र अप्ठ्यारा तथा प्रतिकूल अवस्थाको सामना गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।

गृह जिल्ला झापामा आयोजित राष्ट्रिय युवा संघ नेपाल क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५ झापाको दोस्रो पूर्ण बैठक तथा युवा भेलालाई बुधबार दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस विषयमा धेरै व्याख्या गरिरहनु नपर्ने बताउनुभयो । ‘देशको रक्षा गर्ने पार्टी, अप्ठ्यारा र प्रतिकूलताको सामना गर्ने पार्टी नेकपा एमाले हो । विकास गर्न, शान्ति सुव्यवस्था कायम गर्न एमाले चाहिन्छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले पूर्वाधार विकास, सिँचाइ, खेलकुद पूर्वाधारलगायतका क्षेत्रमा विकास र विस्तार गर्न एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा विभिन्न अप्ठेरा र व्यवधानका बीचमा पनि विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ थियो ।

उहाँले युवाहरूलाई राष्ट्र निर्माण र विकासको अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै एमालेले लिएको विकास र स्थायित्वको मार्ग नै देशका लागि उपयुक्त भएको धारणा राख्नुभयो ।