जनता टाइम्स

७ माघ २०८२, बुधबार २१:३६

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई आत्मसात् गर्दै देशभरका युवा एमालेमा गोलबद्ध हुन जरुरी : अस्मिन घिमिरे


चितवन, माघ ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराउनुभएका एमाले नेता अस्मिन घिमिरेले युवाको नेतृत्व र सहभागिताका पक्षमा मतदान गर्न आह्वान गर्नु भएकाे ५ ।

नेता घिमिरेले यदि कसैले हिम्मत गरेर ‘नाे नट अगेन’ भन्छ भने आफू छाती खोलेर सहयोग गर्न तयार रहेको बताउनुभयो । तर त्यसका लागि ‘एक भोट तपाईँका लागि, एक भोट युवाका लागि’ भन्ने प्रतिबद्धतामा सबै तयार हुनुपर्ने उहाँको भनाइ छ ।

घिमिरेले नेकपा एमालेले देशभरबाट युवाको प्रतिनिधित्व गर्दै महिला, उत्पीडित वर्ग, आदिवासी जनजाति लगायत सबै वर्ग र समुदायलाई समेटेर उम्मेदवार उठाएको उल्लेख गर्नुभयो । एमालेको नीति, विचार र सिद्धान्तलाई स्वर र सङ्गीतमार्फत जनस्तरसम्म पुर्‍याउँदै देशको जनवादी संस्कृतिलाई अझै निखार्ने आफ्नो उद्देश्य रहेको उहाँले बताउनुभयो ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई आत्मसात् गर्दै देशभर रहेका युवा तथा सांस्कृतिक कलाकर्मीहरूको प्रतिनिधित्व गर्ने प्रतिबद्धतासहित आफू निर्वाचन मैदानमा उत्रिएको घिमिरेको भनाइ छ । चितवन क्षेत्र नं. २ बाट सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बन्नु भएका उहाँले जनताको साथ र विश्वास पाएको र सधैँ पाइरहने विश्वास लिएको बताउनुभयो ।

युवाको ऊर्जा, सृजनशीलता र समावेशी प्रतिनिधित्वमार्फत मुलुकको राजनीतिक संस्कार परिवर्तन गर्ने सङ्कल्पका साथ निर्वाचनमा सहभागी भएको उहाँको भनाइ छ ।