जनता टाइम्स

८ माघ २०८२, बिहीबार ०९:१७

कुलमानको पार्टी ‘उज्यालो नेपाल’का तीन केन्द्रीय सदस्यद्वारा संयुक्त राजीनामा


काठमाडौं, माघ ८ । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य केन्द्रसिंह थेगिम, ज्ञान बहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री) ले संयुक्त रूपमा पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँहरूले माघ ७ गते जारी गर्नुभएको प्रेस विज्ञप्तिमार्फत पार्टीसँगको आबद्धता अन्त्य गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रेस विज्ञप्तिमा पहिचानको आन्दोलनको रक्षा गर्दै सामुदायिक समाजवादी विकास, संरचनागत परिवर्तन र दिगो लोकतान्त्रिक भविष्यका लागि एकीकृत राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्यप्रति आफूहरू प्रतिबद्ध रहे पनि उज्यालो नेपाल पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विधि–प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डामा लिखित र स्पष्ट वैचारिक धारणा प्रस्तुत हुन नसकेको उल्लेख गरिएको छ । यिनै कारणले आफ्नो वैचारिक प्रतिबद्धता र आदर्शबाट विचलन भइरहेको अनुभूति भएपछि राजीनामा दिने निर्णयमा पुगेको विज्ञप्तिमा जनाइएको छ ।

उहाँहरूले कुनै व्यक्तिगत वा संस्थागत दोषारोपण नगरी शुद्ध राजनीतिक नैतिकताका आधारमा यो निर्णय गरिएको स्पष्ट गर्नुभएको छ । साथै, समानुपातिक बन्दसूचीका उम्मेदवार केन्द्रसिंह थेगिम आजकै मितिदेखि उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय गरिएको पनि जानकारी गराइएको छ ।

राजीनामापछि आगामी कार्यक्रमबारे जानकारी दिँदै विज्ञप्तिमा एकतापूर्वको संयुक्त पहिचानवादी मोर्चालाई पुनः विस्तार गरी बृहत् पहिचानवादी आन्दोलनका लागि सशक्त संरचना निर्माण गरिने उल्लेख छ । आउँदो २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सबै राजनीतिक दललाई पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक प्रणालीप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब सिर्जना गरिने उहाँहरूको भनाइ छ ।

यसैगरी, ‘नो काेसी- नो केबलकार’ अभियान अन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोनीलगायत धार्मिक–सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध एकबद्ध प्रतिरोध गर्ने, यी एजेन्डा दलका घोषणा–पत्र तथा उम्मेदवारको प्रतिबद्धता पत्रमा समावेश गराउन पहल गर्ने, अन्यथा ‘नो एजेन्डा नो भोट’ अभियान सञ्चालन गर्ने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा पहिचान, लोकतन्त्र र समानुपातिक समावेशी राज्य संरचनाको स्थापनामार्फत देशको समग्र हित सुनिश्चित गर्ने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरिएको छ ।