झापा, माघ ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाटमा जुट्नु भएको छ । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका–५ स्थित स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटीसँग अलग–अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो । भेटघाटका क्रममा वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मनोविज्ञान, विकासको अवस्था र पार्टीका संगठनात्मक गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।
कार्यकर्ताका गुनासा, पार्टीको नीति, देशको आवश्यकता तथा झापा–५ का लागि आफूले गरेका योगदानका विषयमा अध्यक्ष ओलीले कार्यकर्तासँग छलफल गर्नु हुने कार्यक्रम रहेको छ । यसै क्रममा अध्यक्ष ओलीले आजै भदौ २४ गते जेन–जी आन्दोलनको नाममा आगलागी र तोडफोड गरिएका संरचनाको निरीक्षण पनि गर्नु हुने बताइएको छ ।
उक्त घटनामा गौरादह नगरपालिका कार्यालय, वडा नं १, ७ र २ का कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसीलगायतका घरमा आगजनी गरिएको थियो ।
यसअघि अध्यक्ष ओलीले हिजो र अस्ति दमक नगरपालिका तथा कमल गाउँपालिकाका वडा कमिटीहरूसँग अलग–अलग छलफल गर्नु भएको थियो । यसपटक हरेक वडा कमिटीले अध्यक्षसँग प्रत्यक्ष रूपमा अलग–अलग भेटघाट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्