जनता टाइम्स

८ माघ २०८२, बिहीबार ११:३८

झापाकाे दमकमा  पूर्व भरिकै सबै घण्टी हल्लाउनेहरू भेला भएका हुन्, स्थानीय १० प्रतिशत पनि थिएनन् : हर्क साम्पाङ 


काठमाडौं, माघ ८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहको झापा–५  दमकमा भएको राजनीतिक भेलालाई लिएर तीखो टिप्पणी गर्नुभएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा दमकमा आयोजित भेलालाई लक्षित गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो।

सुनसरी-१ बाट उम्मेदवार बन्नु भएका साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उक्त भेलामा स्थानीय सहभागिता न्यून रहेको दाबी गर्नुभएको छ। उहाँले भेलामा सहभागीमध्ये स्थानीय मतदाता ‘१० प्रतिशत पनि नभएको’ बताउँदै बाहिरबाट आएका मानिसहरूको बाक्लो उपस्थितिलाई सङ्केत गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘पूर्व भरिकै सबै घण्टी हल्लाउनेहरू भेला भाका रैछन् दमकमा अस्ति ! स्थानीयहरू त १०% पनि थिएनछन् ! अनि हाम्लाई उल्टो हाँस्दिने ??? आफूले कुखुरा राखेर!!!’

अध्यक्ष साम्पाङको यो टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूले सञ्चालन गरिरहेका राजनीतिक गतिविधिप्रति लक्षित आलोचनाका रूपमा आएको छ। दमकमा भएको भेलालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेका बेला उहाँको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप बहस जन्माएको छ।

श्रम संस्कृति पार्टीले पछिल्लो समय श्रम, स्थानीय स्वामित्व र मौलिक राजनीतिक अभ्यासको कुरा उठाउँदै आएको छ। अध्यक्ष साम्पाङको यो टिप्पणी पनि सोही राजनीतिक दृष्टिकोणसँग जोडिएको रूपमा हेरिएको छ।  सु

राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन साहको तर्फबाट भने अध्यक्ष साम्पाङको टिप्पणीप्रति औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।  झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउण्टर दिन बालेनले उम्मेदवारी दिनुभएकाे हाे ।