सिन्धुली, माघ ८ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सिन्धुली–२ का उम्मेदवार मनोजजंग थापाले देशको शान्ति सुरक्षा, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ।
भदौ २३ र २४ गते भएका विभत्सकारी घटनापछि देशको शान्ति सुरक्षा र सामाजिक सद्भाव गम्भीर रूपमा खलबलिएको उल्लेख गर्दै उहाँले यस्तो परिस्थितिमा सामाजिक एकता मजबुत बनाउनु आजको मुख्य आवश्यकता भएको बताउनुभएको हो। ‘सामाजिक सद्भाव र सामाजिक एकता कायम गर्न एमालेले सञ्चालन गरेको अभियानलाई साकार पार्नकै लागि मेरो उम्मेदवारी हो,’ उहाँले भन्नुभएको छ।
उम्मेदवार थापाले ७० वर्ष लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संविधानमाथि पछिल्लो समय आक्रमण भइरहेको दाबी गर्दै त्यसको प्रतिरक्षा गर्न आफू चुनावी मैदानमा उत्रिएको धारणा राख्नुभएको छ। उहाँका अनुसार लोकतान्त्रिक मूल्य, विधि र संविधानको संरक्षण अहिलेको प्रमुख राजनीतिक जिम्मेवारी बनेको छ।
नेपाललाई अन्तर्राष्ट्रिय भू–राजनीतिक क्रिडास्थल बन्नबाट जोगाउन पनि यो निर्वाचन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। ‘देशलाई बाह्य शक्तिको खेलमैदान बन्न नदिन स्पष्ट र जिम्मेवार जनमत आवश्यक छ,’ उहाँले उल्लेख गर्नुभएको छ।
उम्मेदवार थापाले यो निर्वाचनलाई सामान्य प्रतिस्पर्धाका रूपमा नभई जनताको अभिमत परीक्षण गर्ने अवसरका रूपमा बुझ्न आग्रह गर्नुभएको छ। ‘यो निर्वाचनलाई सामान्य अर्थमा होइन, जनमत संग्रहका रूपमा बुझ्नु आवश्यक छ,’ उहाँले जोड दिनुभएको छ।
एमालेले सिन्धुली–२ मा स्थिरता, सामाजिक सद्भाव, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान अघि बढाएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्