जनता टाइम्स

८ माघ २०८२, बिहीबार १५:००

झापामा बालेन टिममा गएका भनिएका युवा २४ घण्टामा नै एमालेमै फर्किए


दमक, माघ ८ । एमालेकाे राष्ट्रिय युवा संघ नेपाल परित्याग गरी बालेन साहको टिममा संलग्न भएका युवा कार्यकर्ताले २४ घण्टा नबित्दै एमालेमा नै फर्किएका छन् ।

एमाले परित्याग गरी युवाहरु बालेनकाे समर्थनमा लागेकाे भनि निक्कै प्रचार गरिएकाे २४ बित्न नपाउँदै तीय युवा बालेनलाई छाडेर एमालेमा फर्किएका हुन् । राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव पद छोडेर बालेन साहलाई जिताउने अभियानमा लाग्नुभएका कमलप्रसाद गैरे २४ घन्टा नबित्दै पुनः नेकपा (एमाले) मै फर्किनुभएको हो।

उहाँले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै आफू एमालेमै फर्किएको स्पष्ट पार्नुभएको छ। फेसबुकमा सार्वजनिक धारणा राख्दै उहाँले विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिकामा रहेर पार्टीको संगठित सदस्यका रूपमा लामो समयदेखि इमान्दारीपूर्वक क्रियाशील रहँदै आएको उल्लेख गर्नुभएको छ।

उहाँले पछिल्लो समय केही व्यक्तिहरूको दबाब र प्रभावमा परेर सामाजिक सञ्जालमार्फत पार्टी छोडेको अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसलाई गल्तीको रूपमा आत्मसमीक्षा गर्नुभएको छ। ‘गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजोका गल्ती सच्याउँदै पुनः यही पार्टीमा फर्किएको हुँ,’ उहाँले लेख्नुभएको छ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बोकेको पार्टी एमालेमै आफू हिजो पनि रहेको, आज पनि रहेको र भोलि पनि यही रहने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै दमक, झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओली नै राष्ट्रनायक भएको ठहर गर्दै उहाँलाई जिताउने अभियानमा यथावत् रूपमा यही पार्टी तथा संगठनमार्फत सक्रिय रहने संकल्प समेत व्यक्त गर्नुभएको छ।

कमलप्रसाद गैरेको पुनरागमनलाई एमाले वृत्तले राजनीतिक निष्ठा र आत्मसमीक्षाबाट आएको निर्णयका रूपमा लिएको छ। झापा–५ केन्द्रित राजनीतिक गतिविधि तीव्र भइरहेका बेला यस घटनाले बालेन साह साहकाे राजनीति माथि प्रश्न खडा गरेकाे छ ।