दमक, माघ ८ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि दीर्घकालसम्म टिक्न नसक्ने स्पष्ट पार्दै आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ।
बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्व एकीकृत नेकपा माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा अध्यक्ष ओलीले यस प्रकारको विध्वंस मच्चाउनेहरू एक दिन अवश्य कारबाहीको दायरामा आउने विश्वास व्यक्त गर्नुभएको हो।
जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको उक्त घर सामान्य मर्मतपछि बसोबास भइरहेको अवस्थामा अवलोकन गर्न पुग्नुभएका अध्यक्ष ओलीले नेता पुरीलाई आश्वस्त पार्दै भन्नुभयो, ‘सधैं अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ, त्यसैले उजुरी–निवेदनलगायतका कानुनी प्रक्रिया अघि बढाउनु होला।’
नेता पुरीले आफूले घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार आगजनी र तोडफोडका क्रममा घरभित्रका सम्पूर्ण सामग्री लुटिएको, घरायसी सामान जलाईएको तथा घरमा व्यापक क्षति पुर्याइएको थियो।
क्षतिग्रस्त घरको अवलोकनका लागि पुग्नुभएका अध्यक्ष ओलीलाई नेता पुरीले फूलमार्फत स्वागत गर्नुभएको थियो। घर अवलोकनपछि अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी कार्यालय अवलोकन गर्दै गौरादहतर्फ प्रस्थान गर्नुभएको छ।
उक्त घटनापछि स्थानीयस्तरमा शान्ति–सुरक्षा र कानुनी कारबाहीको विषयमा चासो बढिरहेका बेला अध्यक्ष ओलीको अभिव्यक्तिले पीडित पक्षलाई थप भरोसा दिलाएको स्थानीयको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्