जनता टाइम्स

८ माघ २०८२, बिहीबार १८:१५

कैलाली–१ बाट नाउपा नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज


कैलाली, माघ ८ । कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएकाे छ। उहाँविरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी निर्णय आदेशमा जन्मकैदको सजाय पाउनुभएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी प्राप्त भएको देखिए पनि सो माफीले अदालतको फैसला बदर नहुने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार राष्ट्रपतिबाट माफी पाएको कारणले अदालतको फैसला स्वतः खारेज नहुने स्पष्ट गरिएको छ।

साथै निर्वाचन आयोगको मिति २०८०/११/२४ गतेको निर्णयअनुसार चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य हुने व्यवस्था रहेको उल्लेख गर्दै सोही आधारमा उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको आदेशमा जनाइएको छ।

चौधरीविरुद्ध २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दायर भएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उहाँलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

सजाय भुक्तानीका क्रममा उहाँ कारागार कार्यालय डिल्लीबजारमा रहनुभएको थियो। पछि १५ वर्ष कैद माफी गर्न सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिबाट आममाफी पाई उहाँ रिहा हुनुभएको हो। गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १५ गते उहाँलाई रिहा गरिएको थियो।

संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम आममाफी पाएर रिहा भए पनि मौजुदा कानूनी व्यवस्था र निर्वाचन आयोगको निर्णयका कारण उहाँको उम्मेदवारी कायम रहन नसकेको निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ।