काठमाडौं, माघ ९। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सभापति गगन थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणाकाे औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन्।
थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई होम्मने रणनीतिका साथ बैठक बोलाइएको हो। गत पुस २७ गतेदेखि माघ १ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनुभएकाे थियाे । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा उपस्थित हुँदै छन्।
सभापति थापासहित नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनेछ। बैठकमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णयसँगै निर्वाचन अभियान सञ्चालनका लागि विभिन्न समिति गठन गर्ने तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले जनाएका छन्।













प्रतिक्रिया दिनुहोस्