काठमाडौं, माघ ९ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनु भएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका भट्टराईले निर्वाचनमा जित्ने सम्भावना नदेखिएपछि शुक्रबार मनोनयन फिर्ता लिएको बताउनुभएको छ। उहाँका अनुसार नयाँ पुस्तालाई राजनीतिक नेतृत्वमा स्थान दिनुपर्ने र आफूले अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त ठानेर यो निर्णय गरिएको हो।
‘प्रतिस्पर्धामा जानुभन्दा सबैको अभिभावकको भूमिका खेल्नु उपयुक्त हुन्छ भन्ने सल्लाह–सुझाव आएको थियो,’ भट्टराईले भन्नुभयो, ‘त्यही सन्दर्भलाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेँ।’
भट्टराई यसअघि पनि गोरखा–२ बाट निर्वाचित भइसक्नु भएकाे छ। २०७९ सालको निर्वाचनमा भने उहाँले सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्नु भएकाे थियाे ।
यसपटक रास्वपा वा नेपाली कम्युनिष्ट पार्टीबाट समर्थन पाउने अपेक्षासहित उम्मेदवारी दर्ता गराउनु भएका भट्टराईले अपेक्षित राजनीतिक सहयोग नपाउने अवस्था बनेपछि उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्