ललितपुर, माघ ९। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलपछि केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापालाई नेपाली कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्ताव र उपसभापति पुष्पा भुसालले समर्थन गर्नुभएको प्रस्ताव बैठकले अनुमोदन गरेको हो।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरिएको छ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्ने जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दै संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने तयारी गरेको पार्टीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्