झापा, माघ ९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको संयोजकमा देवेन्द्र दाहाल तथा सहसंयोजकमा दीपक कार्की र मेनुका काफ्लेले जिम्मेवारी पाउनु भएको छ।
गौरादहमा शुक्रबार बसेको निर्वाचन क्षेत्र नम्बर ५ समन्वय कमिटीको बैठकले उक्त परिचालन समिति गठन गरेको हो। केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार परिचालन समितिअन्तर्गत नौ वटा उपसमिति गठन गरिएको छ।
परिचालन समितिमा निर्वाचन क्षेत्रसँग सम्बन्धित केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभागका वर्तमान र निवर्तमान सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। साथै प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभिन्न विभाग, सल्लाहकारहरू, जिल्ला कमिटीका पदाधिकारी, विभागीय सदस्य तथा सल्लाहकार परिषद्का सदस्यहरू पनि समितिमा समेटिएका छन्।
यसै गरी स्थानीय तथा प्रदेश तहका निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय, प्रदेश तथा पालिका कमिटीका पदाधिकारी र सदस्यहरू पनि निर्वाचन परिचालन समितिमा रहेका छन्। क्षेत्रीय तथा प्रदेश समन्वय कमिटीहरू पनि निर्वाचन परिचालनमा केन्द्रीत रहने जनाइएको छ।
परिचालन समिति संयोजक दाहाल पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ। उहाँले २०४८ सालदेखि अध्यक्ष ओलीको निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ।
सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ संविधान सभाका दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनु भएको थियो
अर्की सहसंयोजक मेनुका काफ्ले पार्टी केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। उहाँ कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ।
पार्टीका क्षेत्रीय संयोजक तथा निर्वाचन परिचालन समिति सचिव नारायण गौतमले विगतमा निर्वाचन रणनीति निर्माण र सफल कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेका नेताहरूलाई जिम्मेवारी दिइएको बताउनुभयो।
निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय पनि गठन गरिएको छ। गौतमका अनुसार वडा तथा टोल तहका प्रचार समितिहरू आगामी माघ १२ गतेभित्र गठन गरिसक्ने निर्णय गरिएको छ।
परिचालन समितिअन्तर्गत कार्यालय सञ्चालन उपसमितिको संयोजकमा नारायण गौतम, प्रचार–प्रसार सामग्री व्यवस्थापन उपसमितिको संयोजकमा होमबहादुर थापा, प्रचार–प्रसार उपसमितिको संयोजकमा दीपक कार्की, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा गोविन्द थापा र प्रशासन समन्वय उपसमितिको संयोजकमा देवेन्द्र दाहाल रहनु भएको छ।














प्रतिक्रिया दिनुहोस्