जनता टाइम्स

९ माघ २०८२, शुक्रबार २१:०३

सिन्धुली–२ मा नेकपाका विद्रोही उम्मेदवारको घरदैलो सुरु, राजन दाहालकै गाउँबाट हरिबोल गजुरेलसहित प्रचार अभियानमा


सिन्धुली, माघ ९ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका विद्रोही उम्मेदवार महेश्वर दाहाललाई साथ दिँदै वरिष्ठ नेता हरिबोल गजुरेल चुनावी प्रचार अभियानमा सक्रिय हुनु भएको छ। उहाँसँगै जिल्ला संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझीसमेत प्रचारमा सहभागी हुनु भएको छ।

महेश्वर दाहालले आफ्नो चुनावी अभियानअन्तर्गत सुनकोसी गाउँपालिका–५ नाङ्गेडाँडाबाट घरदैलो कार्यक्रम सुरु गर्नु भएको हो। नाङ्गेडाँडामा लोपोन्मुख हायु समुदायको बसोबास रहेको क्षेत्र नेकपाका आधिकारिक उम्मेदवार राजन दाहालको गाउँसमेत हो भने विद्रोही उम्मेदवार महेश्वर दाहालको पनि पैतृक गाउँ हाे।

महेश्वरले आफ्नै गाउँबाट वरिष्ठ नेता गजुरेललाई साथ लिएर चुनावी प्रचार सुरु गर्नुले सिन्धुली–२ को चुनावी माहोल थप रोचक बनेको छ। एउटै गाउँबाट आधिकारिक र विद्रोही दुवै उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनु, त्यसमा पनि केन्द्र र जिल्ला नेतृत्वकै प्रमुख व्यक्तिहरू विद्रोही उम्मेदवारको पक्षमा खुलेर प्रचारमा लाग्नुले यो निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।

राजनीतिक रूपमा संवेदनशील मानिने सिन्धुली–२ मा देखिएको यो आन्तरिक प्रतिस्पर्धाले आगामी दिनमा चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो भन्ने विषयमा चासो बढ्दै गएको छ।