जनता टाइम्स

१० माघ २०८२, शनिबार ११:११

पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन : गोकुल बास्कोटा


काठमाडौं, माघ १० । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताउनु भएकाे छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले सत्यको मूल्याङ्कन आफ्नै आग्रहअनुसार गरिनु नहुने उल्लेख गर्नुभएको छ। उहाँले सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, परिस्थितिमा आगो छादनु कि बरफ वर्षाउन भन्ने विषय आफ्नो सरोकारको विषय नभएको बताउनुभएकाे छ ।

नेता बास्कोटाले आफ्नो धर्म, कर्तव्य र दायित्वलाई कहिल्यै नबिर्सने उल्लेख गर्दै राजनीतिक जीवनमा पूर्वाग्रह र प्रतिशोधको स्थान नहुने धारणा व्यक्त गर्नुभएकाे छ। उहाँले जननेता मदन भण्डारीको ‘पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन’ भन्ने भनाइलाई आफ्नो राजनीतिक आदर्शका रूपमा आत्मसात् गरेको पनि उल्लेख गर्नुभएकाे छ ।

उहाँको भनाइलाई पछिल्ला राजनीतिक बहस र अभिव्यक्तिको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेभित्र र बाहिर विभिन्न विषयमा टिप्पणी र प्रतिटिप्पणी चलिरहेका बेला नेता बास्कोटाको यो धारणा राजनीतिक आचरण र मूल्यबोधतर्फ केन्द्रित सन्देशका रूपमा आएको विश्लेषण गरिएको छ।