जनता टाइम्स

१० माघ २०८२, शनिबार ११:५९

ओखलढुङ्गामा ऐतिहासिक विजयको लक्ष्यसहित एमाले अघि बढिसक्यो : यज्ञराज सुनुवार


ओखलढुङ्गा, माघ १० । नेकपा (एमाले) ओखलढुङ्गाले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ। पार्टीका केन्द्रीय कमिटी सदस्य तथा ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवारले एमालेको विजयी यात्रालाई रोक्न भित्र र बाहिरबाट विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ।

सुनुवारले यस्तो अवस्थामा पार्टी कार्यकर्ता र समर्थकहरू अझ एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस निर्वाचनमा एमालेले पहिलो पटक सशक्त महिला तथा युवा उम्मेदवारका रूपमा अस्मिता थापालाई अघि सारेको उल्लेख गर्दै उहाँ ओखलढुङ्गा जिल्लाका युवापुस्तामाझ अत्यन्त लोकप्रिय उम्मेदवार भएको दाबी गर्नुभयो। सुनुवारले पार्टीले विगतमा महत्त्वपूर्ण जिम्मेवारीमा पुर्‍याएका केही व्यक्तिबाट देखिएका गतिविधि र अभिव्यक्तिले आफूहरूलाई आश्चर्यमा पारेको पनि उल्लेख गर्नुभयो। पार्टीभित्र सधैँ एउटै व्यक्तिले अवसर पाइरहने अवस्था सम्भव नहुने बताउँदै उहाँले संगठनात्मक अनुशासन र सामूहिक जिम्मेवारीको महत्वमा जोड दिनुभयो।

एमालेले लिएको राष्ट्रियताप्रतिको चट्टानी अडान, लोककल्याणकारी राज्यको परिकल्पना, सन्तुलित विकास र सुशासनको एजेन्डा तथा ओखलढुङ्गाको विकासमा पार्टीले गरेको योगदानलाई स्थापित गर्दै कार्यकर्ता र उम्मेदवारहरू गाउँ–गाउँ, टोल–टोलमा पुगिरहेको उहाँको भनाइ छ।

नेता सुनुवारले निस्वार्थ भावले चुनावी अभियानमा खटिरहेका सम्पूर्ण कार्यकर्ताप्रति उच्च सम्मान व्यक्त गर्दै कुनै पनि भ्रम, हल्ला वा षड्यन्त्रबाट विचलित नहुन आग्रह गर्नुभयो। साथै उहाँले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आम ओखलढुङ्गावासी मतदातालाई सहभागी भई इतिहास रच्न आह्वान गर्नुभयो।

‘अनेकौँ षड्यन्त्रका बिच पनि नेकपा (एमाले) को विजय यात्रालाई कसैले रोक्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो यात्रा जारी छ। एमाले ओखलढुङ्गाले चुनावी अभियानलाई अझ प्रभावकारी बनाउँदै घरदैलो र जनसम्पर्कलाई तीव्र पारेको जनाएको छ।