काठमाडौं, माघ १० । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नियतिले बारम्बार ठग्दै आएको छ ।
प्रचण्डको बाध्यता हो वा नियति आफ्ना सबैभन्दा नजिकका प्रियपात्रहरूलाई पटक पटक कारबाही गर्नु पर्ने स्थित आएको छ । आफ्ना राजनीतिका गुरु मोहन वैद्य, सहयोद्धा पार्टीका हस्ती डा. बाबुराम भट्टराई लगायतलाई कारबाही गरेको पत्रमा हस्ताक्षर गर्नु भएका प्रचण्डले अर्का सहकर्मी सहयोद्धा हरिबोल गजुरेललाई कारबाही गरेको पत्रमा आज हस्ताक्षर गर्नु भएको छ ।
प्रचण्डलाई साढे ३ दशक भन्दा लामो राजनीतिक यात्रामा साथ र सहयोग गर्दै आउनु भएको हरिबाेललाई पार्टीको निर्देशन नमानेको भन्दै प्रचण्डले कारबाहीकाे डण्डा चलाउनु भएको छ । सशस्त्र द्वन्द्वकालमा पार्टीको नेतृत्वदायी भूमिकामा रहनुभएका कमान्डरहरूसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरिएको छ।
पार्टीको आधिकारिक निर्देशन विपरीत उम्मेदवारी दिनु, प्रस्तावक बस्नु तथा चुनावी प्रचारमा संलग्न भएको आरोपमा नेता हरिबोल गजुरेलसहित सात जनामाथि कारबाही गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
पार्टीबाट निष्कासन हुनेमा नेता गजुरेलसँगै सिन्धुलीका महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहनुभएको छ।
सिन्धुली क्षेत्र नं. २ मा महेश्वर दाहाल बागी उम्मेदवार बन्नुभएको छ भने उहाँलाई नेता हरिबोल गजुरेलले समर्थन गर्नुभएको बताइएको छ। सो क्षेत्रमा माओवादी केन्द्रले राजन दाहाललाई आधिकारिक उम्मेदवार बनाएको छ।
त्यस्तै, धर्मनाथ साह माओवादी केन्द्र परित्याग गरी सिराहा क्षेत्र नं. ४ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बन्नुभएको छ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका कुलप्रसाद केसीले दाङ क्षेत्र नं. १ बाट बागी उम्मेदवारी दिनुभएको छ। पार्टीले उक्त क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि उहाँले बागी उम्मेदवारी दिएको जनाइएको छ।
निर्वाचन नजिकिँदै जाँदा नेकपामा आन्तरिक असन्तुष्टि सतहमा आएको रूपमा पछिल्लो घटनाक्रमलाई हेरिएको छ। पार्टीमा महत्त्वपूर्ण योगदान गरेका नेताहरू माथिको कारबाहीले राजनीतिक परिदृश्य फेरिने सङ्केत देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्