काठमाडौं, माघ १० । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी निर्वाचनलाई ‘राष्ट्रवादी शक्ति र विदेशी स्वार्थका प्रतिनिधिबीचको संघर्ष’को रूपमा चित्रण गर्नुभएको छ
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मकवानपुरद्वारा शनिबार हेटाैँडामा आयोजित युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने शक्तिले यो निर्वाचन जित्नै पर्ने धारणा राख्नुभयो। सचिव बस्नेतले पछिल्लो समय विभिन्न स्वरूपमा विदेशी स्वार्थ बोकेका शक्तिहरू सक्रिय भएको उल्लेख गर्दै तिनले नेपाली जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो। ‘नेपालमा नयाँ–नयाँ आवरणमा विदेशी एजेन्डा बोकेका शक्तिहरू देखिन थालेका छन्, जसले पुराना र स्थापित दलहरूको बदनाम गराउने काम गरिरहेका छन्,’ उहाँले भन्नुभयो।
उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा दृढ अडान लिने सशक्त राजनीतिक दलका रूपमा नेकपा (एमाले)लाई उल्लेख गर्नुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई समकालीन नेपाली राजनीतिकाे केन्द्रमा रहेको भन्दै उहाँले ओलीले नेपाललाई नाकाबन्दीबाट मुक्त गराएको, भूपरिवेष्टित मुलुकको अवधारणालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गराएको तथा रेलजस्ता पूर्वाधार विकासका योजनाहरू अघि बढाएको स्मरण गराउनुभयो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मान, प्रतिष्ठा र स्वाभिमान बढाउन अध्यक्ष ओलीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सचिव बस्नेतले यस्तो नेतृत्व भएको पार्टी नेकपा (एमाले) नै राष्ट्रवादी शक्तिको प्रमुख प्रतिनिधि भएको दाबी गर्नुभयो। उहाँले विदेशी स्वार्थका प्रतिनिधिहरूलाई राजनीतिक रूपमा पराजित गर्नुपर्नेमा जोड दिँदै ‘यसपटकको निर्वाचन राष्ट्रवादी र विदेशी दलालबीचको स्पष्ट संघर्ष हो’ भन्नुभयो। राष्ट्रको हित विपरीत काम गर्ने शक्तिहरूलाई जरैसम्म उखेलेर फाल्नुपर्ने उहाँको भनाइ थियो।
सचिव बस्नेतले नेकपा (एमाले) को मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको स्पष्ट पार्दै कांग्रेससँग संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका विषयमा स्वच्छ प्रतिस्पर्धा र आवश्यक सहकार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो। ‘राष्ट्रको हितका सवालमा कांग्रेसलाई पनि सँगै अघि बढाएर लैजानु पर्ने छ,’ उहाँले भन्नुभयो।
कार्यक्रममा उहाँले आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिको विजय सुनिश्चित गर्न पार्टीपंक्ति र समर्थकहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्