जनता टाइम्स

१० माघ २०८२, शनिबार २०:३१

समाजलाई भ्रम र अविश्वासतर्फ धकेल्दै विखण्डनको बाटोमा लैजाने प्रयास हुँदै छ  : शंकर पोखरेल


दाङ, माघ १० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई जिम्मेवार र सचेत ढङ्गले सदुपयोग गर्न सबै नागरिकलाई आग्रह गर्नु भएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि तीव्र बन्दै गएको बताउनु भयो।

उहाँले सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै यसले समाजमा भ्रम, अविश्वास फैलाउनुका साथै सामाजिक विखण्डनको जोखिम बढाइरहेको धारणा व्यक्त गर्नु भयो। “पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गइरहेका छन्, सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढेको छ, जसले समाजलाई भ्रम र अविश्वासतर्फ धकेल्दै विखण्डनको बाटोमा लैजाँदै छ,” महासचिव पोखरेलले भन्नुभयो।

कुनै समय सूचना आदान–प्रदानको भरपर्दो माध्यम मानिएको सामाजिक सञ्जाल अहिले गलत सूचनाको माध्यम बन्दै समाजलाई गलत दिशातर्फ लैजान थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो। महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनालाई मुलुकविरुद्ध गरिएको षड्यन्त्रको संज्ञा दिँदै ती गतिविधिहरू अझै पूर्ण रूपमा रोकिएको अवस्था नरहेको बताउनु भयो। साथै उहाँले ती घटनाका पछाडि संगठित शक्ति सक्रिय रहेको सङ्केत गर्नुभयो।

रवि लामिछाने र बालेन साहलाई उदय गराउने ‘सेन्टर’ एउटै रहेको दाबी गर्दै महासचिव पोखरेलले उही शक्तिले मुलुकविरुद्ध गतिविधि सिर्जना गर्न उनीहरूलाई एकताबद्ध गराएको आरोप लगाउनु भयो। जेन–जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनीका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूको आडमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गरिएको बताउनु भयो। डिस्कटमा विशेष रसायन प्रयोग गरी आगजनी गर्ने विषयमा समेत छलफल भएको जानकारी आफूले पाएको भन्दै यस्तो गतिविधि सामान्य विद्यार्थीबाट सम्भव नहुने उहाँको स्पष्टोक्ति थियो।

निर्वाचन सन्दर्भमा महासचिव पोखरेलले दाङ जिल्लाको राजनीतिक मनोविज्ञान सकारात्मक रहेको उल्लेख गर्दै जनताको चेतनाले लोकतन्त्र र स्थायित्वको पक्षमा परिणाम ल्याउने विश्वास व्यक्त गर्नु भयो।

महासंघ जिल्ला अध्यक्ष शरदराज गिरीको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. विकास गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासंघ लुम्बिनी प्रदेश अध्यक्ष द्रोण वलीले गर्नु भएको थियो।