जनता टाइम्स

११ माघ २०८२, आईतवार १०:१३

आचारसंहिताका कारण कांग्रेसको माघ १६ काे मधेस प्रदेशस्तरीय चुनावी सभा स्थगित


जनकपुरधाम, माघ ११ । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय गरेको मधेस प्रदेशस्तरीय चुनावी सभा स्थगित गरिएको छ।

नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। निर्वाचन आचारसंहितामा मतदान हुने मितिभन्दा १५ दिन अघिदेखि मात्र चुनावी सभा गर्न पाइने स्पष्ट व्यवस्था रहेकाे छ ।

उहाँका अनुसार पार्टी आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र निर्वाचन आयोगको निर्देशनअनुसार नै चुनावी गतिविधिहरू सञ्चालन गरिनेछ। ‘आयोगको निर्देशन र कानुनी व्यवस्थाको सम्मान गर्दै कार्यक्रम स्थगित गरिएको हो,’ उहाँले भन्नुभयो।

स्थगित सभाको नयाँ मिति तथा संशोधित कार्यक्रम तालिका आगामी दिनमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो। कांग्रेसले मधेस प्रदेशमा चुनावी अभियानलाई चरणबद्ध रूपमा अघि बढाउने तयारी गरिरहेको र आचारसंहिताको सीमाभित्र रहेर प्रचार गतिविधि सञ्चालन गर्ने जनाएको छ।