दमक, माघ ११ । आदिवासी धिमाल जातिहरूको भेलाले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का सूर्य चिह्नधारी उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ ।
मोरङको उर्लाबारीस्थित मंगलवारेमा रहेको दश बिघे धिमाल जातीय विकास केन्द्रमा सम्पन्न भेलाले लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा खड्गबहादुर धिमाल चयन हुनुभएको छ ।
भेलाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सूर्य चिह्नधारी सबै उम्मेदवारको पक्षमा संगठित रूपमा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
झापा, मोरङलगायत पूर्वी क्षेत्रका आदिवासी धिमाल समुदायका प्रतिनिधिहरू समेटिएको समितिमा गिरीराज धिमाल, गजेन्द्र धिमाल, मिलन धिमाल, शान्ति धिमाल, अम्बर धिमाल, लालबहादुर धिमाल, रोमान्स धिमाल, सरीराज धिमाल र मिना धिमाललगायत सदस्य रहनुभएको छ ।
लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराज धिमालका अनुसार निर्वाचन केन्द्रित गतिविधिहरू छिट्टै सुरु गरिनेछ । उहाँले धिमाल समुदायको संगठित भूमिकाले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्