काठमाडौं, माघ १२ । गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य नगर्न तथा प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयका अनुसार ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहँदै आएको छ, जसमा राष्ट्रिय झण्डाको आकार, प्रयोग गर्ने तरिका, फहराउने विधि तथा निषेध गरिएका कार्यहरूको स्पष्ट व्यवस्था गरिएको छ । सोही कार्यविधिअनुसार प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग सही ढङ्गले भएको छ वा छैन भन्ने विषयमा नियमित अनुगमन गर्ने अधिकारसमेत दिइएको छ ।
मन्त्रालयले राष्ट्रिय झण्डाको अपमान हुने किसिमका कार्यहरू—जस्तै झण्डा उल्टो राख्ने (चन्द्रमा तल पर्ने गरी), च्यात्ने, जलाउने, फ्याँक्ने, कुनै सामान पोको पार्ने, व्यापारिक विज्ञापनका लागि प्रयोग गर्ने कार्य—कानुन विपरीत रहेको स्पष्ट गरेको छ । त्यस्तै, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र प्रयोग गर्न नपाइने, चन्द्रमा तल पर्ने गरी लगाउन नहुने तथा छातीभन्दा तल लगाइने भित्री वा बाहिरी कपडामा राष्ट्रिय झण्डाको चित्र वा प्रतीक राख्न नपाइने व्यवस्था रहेको जनाइएको छ ।
गृह मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ दफा १३ को खण्ड (न) उल्लेख गर्दै दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने भए पनि त्यसबाहेक निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएको छ । सो व्यवस्था उल्लङ्घन गरेमा कानुनी कारबाही हुने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।
त्यसै गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ अनुसार नेपालको राष्ट्रिय झण्डाको अपमान गर्ने वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचारको दृष्टिले प्रयोग गर्न नहुने स्थान वा अवस्थामा झण्डा प्रयोग गरेमा सजायको व्यवस्था रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रको गौरव र पहिचानसँग जोडिएको राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी कानुनअनुसार मात्र प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ । अन्यथा दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
पछिल्लो समय राजनीतिक दलको चुनावी प्रचारमा हिँडेका उम्मेदवारहरूले आफूलाई राष्ट्रवादी देखाउन राष्ट्रिय झण्डा ओढेर हिँड्न लागेपछि मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।














प्रतिक्रिया दिनुहोस्