जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १३:०५

बागलुङ दुर्घटनामा भएको ठुलो क्षतीबाट मुख्यमन्त्री पोखरेल स्तब्ध


काठमाडौं, मंसिर १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाग्लुङ दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज शोक बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।
गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप हिजो बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको थियो भने एक बेपत्ता र तीन जना गंभीर घाईते भएका छन । मुख्यमन्त्री पोखरेलले दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको भन्दै बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न सरकार संवेदनशील रहेको जानकारी दिनुभएको छ ।

सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको तथ्य पनि उहाँले औल्याउनु भएको छ ।

यस्तो छ शोक विज्ञप्ति

गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप यही मंसिर १७ गते बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन जना गंभीर घाईते भएको खबरले स्तब्ध बनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सार्थै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाईतेहरुको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ, बेपत्ताको खोजी कार्य भइरहेको छ । बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपील गर्दछु ।

दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न सरकार संवेदनशील छ । सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ । दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक छ ।

प्रदेश सरकारले दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी,यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक छ । दुर्घटना न्युनिकरण अभियानलाई सबैको सहभागिताले मात्रै सफल बनाउन सकिने मैले विश्वास लिएको छु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ मंसिर १८