काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलाई आत्मसात् नगरेसम्म कुनै पनि व्यक्ति सम्पूर्ण रूपमा नेपाली हुन नसक्ने बताउनुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनु भएका थापाले सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै मधेसप्रतिको आफ्नो राजनीतिक र भावनात्मक प्रतिबद्धताका साथ त्यहाँ प्रवेश गरेको स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेसको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै मधेसले दिएको योगदान कहिल्यै बिर्सन नहुने बताउनुभयो । ‘मधेसले कांग्रेसलाई लगाएको गुण, मधेसले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेसले सिङ्गो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु,’ थापाले भन्नुभयो ।
थापाले मधेसको शिक्षा प्रणाली कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । विशेष गरी गणित, विज्ञान र अङ्ग्रेजी विषयमा मधेसका विद्यार्थी कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले यसको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाउनुभयो । कुनै समय मधेसका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानका कक्षा नचल्ने अवस्था रहेको स्मरण गर्दै अहिले त्यो अवस्था उल्टिएको उहाँको भनाइ छ ।
केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्ने क्रममा नै मधेस आएर यहाँका जनताको प्रतिनिधित्व गर्ने चाहना मनमा पलाएको उल्लेख गर्दै थापाले मधेसप्रति आफ्नो राजनीतिक समर्पण दोहोर्याउनुभयो ।
सर्लाही निर्वाचन क्षेत्र नं ४ का जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्न काठमाडौंमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिने उहाँले घोषणा गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्