जनता टाइम्स

१३ माघ २०८२, मंगलवार १४:२६

सुदूरपश्चिमका अधुरा योजनालाई पूर्णता दिन म निर्वाचित हुनुपर्छ : लेखराज भट्ट


 

काठमाडौं, माघ १३। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भए सुदूरपश्चिममा रहेका पुराना र ठूला योजनाहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

काठमाडौँमा आयोजित कैलाली क्षेत्र नं. ४ का युवाहरूलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशका अधुरा योजना पूरा गर्न आफूलाई जिताउन युवाहरूलाई अग्रसर हुन आग्रह गर्नुभएको हो।उपमहासचिव भट्टले ‘टुरिस्ट’ उम्मेदवार निर्वाचित भए संसदमा पनि मुद्दा उठ्ने अवस्था नहुने भएकाले आफूलाई जिताउन जेनजी युवाहरूले भूमिका खेल्नुपर्ने बताउनुभयाे ।

उहाँले आफूले पूर्वदेखि नै सुदूरपश्चिमका महत्वपुर्ण योजना अघि बढाउने कार्यमा भूमिका खेलेको दाबी गर्दै भन्नुभयाे, “मैले सेती लोकमार्ग, महाकाली लोकमार्ग, खुटिया–दीपायल द्रुतमार्ग, सुदूरपश्चिम विश्वविद्यालयको निर्णय गराएको हुँ, धेरै चर्चा नगर्ने भएकाले यसले के गरेको होला भनेर चर्चा भइरहेको छ, त्यसपछि अछामको बयलपाटा अस्पताल बनाउने निर्णय गराएँ, वाणिज्य आपूर्तिमन्त्री हुँदा सुख्खा बन्दरगाह दोधार–चाँदनीमा बनाउने निर्णय गराएँ, आज निर्माण भइरहेको छ, मेरो पहलमा धनगढी–अत्तरिया औद्योगिक कोरिडोरको डीपीआर भइसकेको छ, गेटा मेडिकल कलेजको जग बसाउने, निर्णय गराउने, विश्वविद्यालय नहुन्जेल नछोड्ने-यी सबै काम मैले अगाडि बढाएको हुँ, साथै हरैया विशेष आर्थिक क्षेत्र र दैजी औद्योगिक क्षेत्रको शिलान्यास गराइएको छ। मुडेधारी औद्योगिक क्षेत्रलाई पनि अघि बढाउनेछौँ।”

उहाँले युवाहरूलाई एमालेले सबैभन्दा बढी समेटेको समेत उल्लेख गर्नुभयाे । “युवा भनेको केवल उमेरको विषय होइन, विचार र चिन्तन नै युवा हो, उमेरले मात्र युवा मानिँदैन। वैचारिक रूपमा वृद्ध जस्तो भए युवापनले काम गर्दैन, तपाईँसँग भएको ज्ञान मैले पनि समात्न सक्छु, त्यसैले म पनि युवा हुँ, अहिलेको गतिलाई समात्न सक्नु भएन भने तपाईँ पनि युवा होइन”, उहाँले भन्नुभयाे ।

उपमहासचिव भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धबारे युवालाई पर्याप्त रूपमा बुझाउन नसकेको समेत स्वीकार गर्नुभयो। उहाँले भन्नुभयाे, “त्यो प्रतिबन्ध थिएन, नेपालको ऐन र कानुनभित्र आउनुपर्छ भन्ने कुरा मात्र भनिएको हो, करको दायरभित्र आउनु पर्ने भनेर मात्र भनिएको हो।”

उहाँले युवाहरूले उठाएका मागहरू सही रहेको स्वीकार गर्दै पार्टीले त्यसै अनुरूप काम गरिरहेको पनि बताउनुभयो।