जनता टाइम्स

१३ माघ २०८२, मंगलवार १५:१९

बालेनसँगै निर्वाचन आयोगले सोध्यो महेश-हर्क, निकोलस र शोभालाई पनि स्पष्टीकरण


काठमाडौं, माघ १३ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन साहसँगै, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले मंगलवार झापा–५ का उम्मेद्वार बालेन, भक्तपुर–२ का उम्मेदवार बस्नेत सुनसरी–१ का उम्मेदवार साम्पाङ र रूपन्देही–२ का उम्मेदवार भुसालसँग स्पष्टिकरण सोधेको हो । पाँचै जना उम्मेदवारहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो । निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै उजुरी परेको हो ।

उजुरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ ।

त्यस क्रममा रास्वपा वरिष्ठ नेता साहले प्रयोग गरेका ’७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको भन्दै कार्वाहीको माग गरिएको छ ।

यस्तै एमाले सचिव महेश बस्नेतविरूद्ध पनि उहाँले दिएका अभिव्यक्तिलाई लिएर उजुरी परेको हो । बस्नेतले बालेन साहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप लगाइएको छ । एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप उजुरीमा छ ।

यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाइएको विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो । यसैगरी आयोगले स्वतन्त्र उम्मेदवार कमल भुसाल (निकोलस) लाई पनि स्पष्टीकरण सोधेको हो ।

भुसालले दुई वटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिह्नसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो । भुसालले जेनजी आन्दोलनको ’आइकोनिक जुत्ता चुनाव चिन्ह’ भनेर प्रचार गरेको पाइएको छ ।

आयोगले चारै जनालाई तीन दिनभित्र स्पष्टीकरणको जबाफ दिन भनेको छ । यस्तै आयोगले जानुका पाठक (शोभा) लाई पनि स्पष्टिकरण सोधेको छ । शोभाको बोलीलाई लिएर आयोगमा उजुरी परेको हो । पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको र हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।