जनता टाइम्स

१३ माघ २०८२, मंगलवार १८:१३

प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने कांग्रेसकाे नीति


काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संगठनात्मक संरचनासहित प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि चुनावी अभियानलाई तीव्र बनाएको छ । पार्टीले देशभरका १ ;सय ६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू कायम रहेको जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिले सोमबार राजधानीमा आयोजना गरेको प्रेस–संवादमा हालको संगठनात्मक अवस्था र चुनावी तयारीबारे जानकारी गराउँदै विद्रोह गरेका केही उम्मेदवारहरूले मनोनयन फिर्ता लिइसकेका र बाँकी थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जनाएको छ ।

विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमै उम्मेदवार छनोट, प्रचार तथा परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा अघि बढाइरहेको पार्टीको भनाइ छ । प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका, गाउँपालिका र वडा तहसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गरिने र प्रतिस्पर्धालाई मर्यादित बनाउने उद्देश्यले पार्टीले आन्तरिक आचारसंहिता पनि निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको कांग्रेसले जनाएको छ । प्रचारका क्रममा पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिइने तथा व्यक्तिगत जीवनमा प्रवेश नगरी मानव स्वतन्त्रताको सम्मान गरिने स्पष्ट पारिएको छ ।

कांग्रेसले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाउने नीति लिएको जनाएको छ । यससँगै पार्टीमा पुराना नेताहरू पुनः जोडिने क्रम बढेको र नयाँ प्रवेशको लहर पनि तीव्र भएको जानकारी दिइएको छ । डोल्पामा अन्य दलबाट उम्मेदवार रहेका दिलबहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको उदाहरणसमेत प्रस्तुत गरिएको छ ।

यसैबीच राष्ट्रिय सभामा कोशी प्रदेशबाट सुनीलबहादुर थापा निर्विरोध तथा धर्मेन्द्र पासवान, रञ्जित कर्ण, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती २०८२ माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित हुनु भएको पार्टीले जनाएको छ ।

पार्टी सभापति गगनकुमार थापा सहितका शीर्ष नेताहरू नियमित रूपमा निर्वाचन क्षेत्रहरूमा मतदातासँग सम्पर्कमा रहनु भएको र सभापति हाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी कार्यक्रममा व्यस्त रहनु भएको जानकारी दिइएको छ । फाल्गुण ७ गते जनकपुरधाममा विशेष सभा आयोजना गरिने र केन्द्रीय स्तरका आमसभाहरू क्रमशः अन्य क्षेत्रमा पनि आयोजना गरिने कांग्रेसले जनाएको छ ।

केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गरिने तयारी रहेको जनाउँदै पार्टी प्रवक्ता देवराज चालिसेले त्यसमा सुशासन, विकास र भविष्यप्रति यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समेटिने उल्लेख गर्नु भयाे । साथै समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गरिने र हरेक दुई दिन दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा नियमित पत्रकार संवाद आयोजना गरिने उहाँले जानकारी दिनुभयाे ।

सुधार, एकता र विकासको प्रतिबद्धतासहित जनतामाझ बलियो उपस्थिति जनाउँदै अघि बढिरहेको नेपाली कांग्रेसले सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भई चुनावी अभियानमा जुट्न र कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आह्वान गरेको छ ।