काठमाडौं, माघ १३ । निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूलाई कठोर मापदण्ड तोकेको छ । आयोगले छुट्टै बैंक खातामार्फत मात्रै निर्वाचन खर्च गर्नुपर्ने मापदण्ड तोेकेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट मात्रै आर्थिक कारोबार गर्नुपर्ने बताउनु भयो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उहाँले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गर्नुभयो ।
दल र उम्मेदवारले बैङ्किङ प्रणालीविपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनु भयो । भण्डारीले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताउनु भयो ।
निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । यस्तै उहाँले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आयोगले सरकारलाई लेखी पठाएपछि गृह मन्त्रालयले सरोकार भएका निकायलाई ध्यानाकर्षण गराई यसको कार्यविधिअनुसार गर्न आह्वान गरेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्