ताप्लेजुङ, माघ १३ । ताप्लेजुङबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका एमाले नेता क्षितिज थेबेले कञ्चनजङ्गा क्षेत्रको पर्यटन विकासलाई व्यवस्थित र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कञ्चनजङ्गाको काखमा रहेको याम्फुदिन क्षेत्रलाई केन्द्रमा राख्दै थेबेले यस क्षेत्रको पर्यटन सम्भावना अत्यन्तै उच्च भए पनि अपेक्षित व्यवस्थापन र दीर्घकालीन योजना अभावमा त्यसको पूर्ण उपयोग हुन नसकेको उल्लेख गर्नु भयो । उहाँले वर्तमान अवस्थालाई परिवर्तन गर्दै कञ्चनजङ्गा क्षेत्रको पर्यटनलाई योजनाबद्ध, व्यवस्थित र दिगो रूपमा अघि बढाउने स्पष्ट धारणा राख्नु भयो । ‘कञ्चनजङ्गा क्षेत्र पर्यटनको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो तर अहिलेसम्म यसको पर्यटकीय व्यवस्थापन र दिगो योजना अपेक्षाअनुसार अघि बढ्न सकेको छैन,’ उहाँले भन्नु भयो, ‘अब ठोस कार्ययोजनासहित यस क्षेत्रको पर्यटन सम्भावनालाई व्यवहारिक रूपमा अघि बढाइनेछ ।’

उम्मेदवार थेबेले पर्यटन विकासले स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो । कञ्चनजङ्गा क्षेत्रलाई केवल प्राकृतिक सौन्दर्यमा सीमित नराखी स्थानीय संस्कृति, पहिचान र जीवनशैलीसँग जोडेर विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।
ताप्लेजुङको भरोसा र समृद्धिको साझा सपनालाई साकार पार्न आफू प्रतिबद्ध रहेको जनाउँदै थेबेले स्थानीय जनताको सहभागिता र अपनत्वसहित विकासका कार्यक्रम कार्यान्वयन गरिने बताउनु भयो । उहाँले कञ्चनजङ्गा क्षेत्रबाट उठेको उत्साह र समृद्धिको आवाजलाई संसदसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई स्थानीय तहमा व्यवहारिक रूपमा उतार्ने उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको थेबेले स्पष्ट पार्नु भयो ।













प्रतिक्रिया दिनुहोस्