काठमाडौं, माघ १४ । श्रमजीवी पत्रकारलाई लामो समयदेखि पारिश्रमिक नदिए पछि नेपाल पत्रकार महासंघले रिपब्लिका मिडिया प्रालिद्वारा प्रकाशित ‘नागरिक दैनिक’मा आज ताला लगाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा गएको टोलीले रिपब्लिका मिडिया प्रालीका कार्यकारी अधिकृत (सिइओ) को कार्यकक्षमा ताला लगाएको हो । महासंघसँग गत साउन २२ गते भएको सम्झौता कार्यान्वयनसहित चारबुँदे माग पूरा नभएसम्म ताला नखोलिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार उक्त मिडिया हाउसले एक वर्षदेखि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिएको, अनावश्यक रूपमा पत्रकार सरुवा गरेको, सामाजिक सुरक्षा कोषमा नजोडेको, कार्यरत पत्रकारमाथि विभेद गरेको तथा महासंघसँग भएको सम्झौता कार्यान्वयन नगरेको आरोप छ ।
सम्झौता कार्यान्वयनका लागि पटक–पटक आग्रह गर्दा उल्टै नेपाल पत्रकार महासंघविरुद्ध मुद्दा दायर गरिएको भन्दै महासंघ बाध्य भएर ताला लगाउनुपरेको आचार्यले जानकारी दिनुभयो । ‘श्रमजीवीले काम गरेको तलब देऊ भन्दा महासंघलाई मुद्दा लगाउने कस्तो नियत हो ? यस्तालाई छाड्ने कुरै हुँदैन,’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्