काठमाडौं, माघ १४। गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् ‘घण्टी’ चिन्हका केही नयाँ नेताहरूका अभिव्यक्ति र एजेन्डामाथि तीखो व्यङ्ग्य गर्नुभएको छ ।
उहाँले पछिल्ला दिनहरूमा सार्वजनिक भएका विवादास्पद भनाइहरूलाई उदाहरण दिँदै राजनीतिक नेतृत्वको स्तर र जिम्मेवारीमाथि प्रश्न उठाउनुभएको हो । मगरले व्यङ्ग्यात्मक शैलीमा “यसपालि चुनाव घण्टीका नयाँ–नयाँ नेताले नै जित्नुपर्छ, उहाँहरूको एजेन्डा र वाणी सारै राम्रा छन्” भन्दै केही भनाइहरू उल्लेख गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा चर्चामा आएका कथित अभिव्यक्तिहरू प्रस्तुत गर्दै खसी काटेर खाने भए गोरु काटेर खान पाउनु पर्छ भन्ने भनाइदेखि गरिबले राजनीति गर्नु हुँदैन, पैसा कमाएकाले मात्र गर्नु पर्छ भन्ने तर्कसम्म सार्वजनिक भएकोप्रति कटाक्ष गर्नुभएको छ । उहाँले घण्टीले जिते बालेन र रविलाई स्याङ्जा ल्याउने बाचा गर्छु भन्ने अभिव्यक्ति र बलात्कार गर्नु तथा झापड हान्नु एउटै कुरा हो भनेर सामान्य रूपमा लिनु पर्छ भन्ने भनाइलाई पनि उदाहरणका रूपमा अघि सार्नुभएको छ । यस्ता अभिव्यक्तिहरूलाई ‘अद्भुत क्यारेक्टर’ भन्दै मगरले यस्ता पात्रहरू संसारमा सजिलै नआउने टिप्पणी गर्नुभएको छ।
पुराना नेताहरूले स्वाधीनता, सार्वभौमता, समावेशिता र दिगो विकासजस्ता विषय उठाए पनि जनताले बुझ्दैनन् भन्ने शैलीमा व्यङ्ग्य गर्दै उहाँले नयाँ नेताहरूलाई ‘हाम्रो सोच र स्तरका लागि पर्फेक्ट’ भनेर टिप्पणी गर्नुभएको छ ।
मगरले खगेन्द्र सुनार, विनीता कठायत, रिमा विश्वकर्मा र सोभिता गौतमजस्ता पात्रहरूको नाम उल्लेख गर्दै फागुन २१ पछि देश बन्छ तर के बन्छ भन्ने प्रश्न पनि उठाउनुभएको छ । ‘फागुन २१ पछि देश बन्छ तर के बन्छ बन्न त बन्छ, खरानी बनिसक्यो अब गुलामी बन्छ’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।
उहाँको यो व्यङ्ग्यात्मक पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रतिक्रिया पाएको छ । कतिपयले समर्थन जनाएका छन् भने कतिपयले आलोचना पनि गरेका छन् ।
यस्तो छ मगरको फेसबुक स्ट्याटस :
यसपालि चैँ चुनाव चैँ घण्टी को नयाँ नयाँ नेताहरूले नै जित्नु पर्दछ उहाँहरूको एजेन्डा र वाणी सारै राम्रा छन्…
1) खसी काटेर खाने भए गोरु काटेर खान पाउनु पर्छ …
2)चप्पल लाएर आयका गरिब ले राजनीति गर्नु हुँदैन पैसा कमाएकाले गर्नु पर्छ…
3)हाम्रो घण्टी ले जित्यो भने बालेन र रवि लाई स्याङ्जा मा ल्याउने बाचा गर्छु…
4)बलात्कार गर्नु र झापड हान्नु एउटै कुरा हो । सामान्य रूपमा लिनु पर्छ…
यस्ता यस्ता अद्भुत क्यारेक्टरहरू यो संसारमा यति सजिलै त आएनन् उहाँहरूलाई रोक्न छेक्न ठुलो प्रयास गर्दा पनि ढाल फुटाएर साक्षात्कार भयका हुन…
एजेन्डा र वाणीहरू अनि भीष्म प्रतिज्ञा त यस्तो पो हुनु पर्छ । थोत्रो बुढोहरू खाली स्वाधीनता,सार्वभौमता,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिगो संयन्त्र,समावेशिता, समृद्ध नेपाल, दिगो विकास भन्छन् अनि कहाँ बुझ्छन् जनता ले… हाम्रो सोच हाम्रो स्तरको लागि पर्फेक्ट नेताहरु त खगेन्द्र सुनार, विनीता कठायत, रिमा विश्वकर्मा, सोभिता गौतम जस्ता नै हुन्… फागुन २१ पछि देश बन्छ तर के बन्छ बन्न त बन्छ, खरानी बनिसक्यो अब गुलामी बन्छ ।…













प्रतिक्रिया दिनुहोस्