जनता टाइम्स

१४ माघ २०८२, बुधबार ११:४६

पुष्पलाल मध्यपहाडी राजमार्गको रामेछाप खण्ड अलपत्र : बजेट अभावले २७ किलोमिटर सडक निर्माण रोकियो


रामेछाप, माघ १४ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत रामेछाप जिल्लामा सडक निर्माणको काम लामो समयदेखि रोकिँदा आयोजना अलपत्र परेको छ । बजेट अभावका कारण बाँकी खण्डको निर्माण अघि बढ्न नसकेको पुष्पलाल मध्यपहाडी योजना कार्यालय रामेछापले जनाएको छ ।

यो राजमार्ग रामेछाप जिल्लामा दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ लखनपुरस्थित चौँरीखोलादेखि खाँडादेवी गाउँपालिका वडा नं ४ त्रिवेणी नजिकै आँपघारी हुँदै मन्थली नगरपालिकाको सेलेघाट–खुर्कोटसम्म फैलिएको छ । यस खण्डमा कुल ४९ किलोमिटर सडक पर्ने कार्यालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४९ किलोमिटरमध्ये सडकको ट्र्याक खोल्ने काम प्रायः सम्पन्न भइसकेको छ । हालसम्म राकाथुमदेखि जोरधारासम्मको ११ किलोमिटर सडक निर्माणकार्य पूरा भएको छ ।

त्यसैगरी खुर्कोटदेखि पलासेसम्मको ११ किलोमिटर सडक निर्माण कार्य अहिले सञ्चालनमा रहेको छ । तर बाँकी २७ किलोमिटर सडक निर्माणको काम भने बजेट नआउँदा सुरु हुन सकेको छैन ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बाँकी निर्माण कार्य दुई खण्डमा विभाजन गरिएको छ । पलासेदेखि राकाथुमसम्मको १४ किलोमिटर र जोरधारादेखि चौँरीखोलासम्मको १३ किलोमिटर सडक निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत स्रोत सहमति माग गरी सम्बन्धित निकायमा पठाइएको भए पनि बजेट प्राप्त नभएकाले काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

यसैबीच, लामो समयदेखि रोकिएको सेलेघाट पुल निर्माण भने यस वर्षदेखि पुनः अघि बढेको छ । तर बाँकी सडक खण्डका लागि आवश्यक बजेट सुनिश्चित नभएकाले समग्र आयोजनाको प्रगति प्रभावित भएको कार्यालयले जनाएको छ ।

यो सडक निर्माण सम्पन्न भएमा काठमाडौंबाट बीपी राजमार्ग हुँदै पूर्व जाने यात्रुहरूका लागि वैकल्पिक मार्ग तयार हुने र पूर्वतर्फको यात्रा अझ सहज तथा छिटो हुने छ ।