जनता टाइम्स

१४ माघ २०८२, बुधबार १४:५१

भारतकाे महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारकाे विमान दुर्घटनामा निधन, राज्यमा तीन दिनको शोक घोषणा


महाराष्ट्र, भारत, माघ १४ । महाराष्ट्रका उपमुख्यमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ अजित पवारकाे बुधबार बिहान पुणे जिल्लाको बारामती नजिकै विमान दुर्घटनामा परी निधन भएकाे छ। विमान दुर्घटनामा पवारसहित पाँचै यात्रुको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटना बुधवार बिहान करिब ८:४८ बजे भएको थियो। पवार सवार चार्टर्ड लियरजेट ४५ विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा अचानक नियन्त्रण गुमाउँदा दुर्घटनाग्रस्त भएको र आगो लागेको देखिएको थियो। विमानमा उपमुख्यमन्त्री पवारका निजी सुरक्षा अधिकृत, एक सहयोगी र दुई जना चालक दलका सदस्य थिए। सबै यात्रुको घटनास्थलमै मृत्यु भएको प्रादेशिक नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले पुष्टि गरेको छ।

यस घटनापछि महाराष्ट्र सरकारले तीन दिनको राज्य शोक घोषणा गरेको छ। सरकारी कार्यालयहरु बन्द रहने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह र महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले पवारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

अजित पवार वरिष्ठ राजनीतिज्ञ, राष्ट्रवादी कांग्रेस पार्टी (NCP) का अग्रणी नेता तथा महाराष्ट्रमा लामो समय उपमुख्यमन्त्रीको रूपमा रहेर काम गरेका व्यक्ति हुन्। उनी संस्थापक शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काका छोरा (कजिन) पनि हुन्। पवारले विभिन्न सरकारमा ६ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

उनले पहिले पृथ्वीराज चव्हाण, देवेंद्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्दे नेतृत्वका मन्त्रिपरिषद्मा उपमुख्यमन्त्रीको रूपमा काम गरिसकेका थिए। उनी पत्नी सुनैत्रा पवारसँग विवाहित थिए र उनका दुई छोरा, जय र पार्थ पवार, छन्।

घटनाको कारण पत्ता लगाउन भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (AAIB) तथा सम्बन्धित निकायले व्यापक अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा सुरक्षा तथा उद्धार कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको थियो।

राज्य सरकार र पार्टीले पवारको परिवारलाई आवश्यक सहायता प्रदान गरिरहेको र श्रद्धाञ्जली कार्यक्रम तयारीमा रहेको जनाइएको छ। यस घटनाले महाराष्ट्रको राजनीति र जनसमुदायमा गहिरो शोक फैलाएको छ।