उदयपुर, माघ १४ । नेकपा (एमाले) ले यस पटककाे प्रतिनिध सभा सदस्यमा उदयपुरबाट सामाजिक रुपान्तरणका अभियन्ता दुर्गाकुमार थापा (स्वस्ती) लाई उम्मेदवार बनाएकाे छ ।
उदयपुर जिल्लामा मानव सेवा, अधिकार संरक्षण र समावेशी विकासका क्षेत्रमा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउनु भएका थापा यस पटक एमालेबाट उम्मेदवार बन्नु भएकाे हाे ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाको प्रमुखमा निर्वाचित भएर स्थानीय तहकाे राम्राे अनुभव समेत प्राप्त गर्नु भएका थापालाई जिल्लमा विकासप्रेमी नेता मानिन्छ । नगरप्रमुखका रूपमा थापाले कृषि विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्धन तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गर्नु भएकाे थियाे ।
बेलका नगरपालिकाको मेयर रहँदा उहाँले अपाङ्ग हित संरक्षण ऐन निर्माण गर्नुका साथै सुस्त मनस्थितिका बालबालिकाका लागि विशेष कक्षा सञ्चालन, मानसिक स्वास्थ्य उपचार तथा औषधि निःशुल्क वितरणजस्ता कार्यक्रम अघि बढाउनुभएको थियो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः नगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवारसँग पराजित भए पनि सङ्गठन क्षमता, लामो राजनीतिक सङ्घर्ष र जनसम्पर्कलाई आधार बनाउँदै एमालेले थापालाई सङ्घीय चुनावको सफलता हासिल गर्ने मुख्य पात्रकाे रुपमा अघि सारेकाे छ ।
थापा त्रियुगा जनता बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ । उहाँ विभिन्न संस्थासँग आबद्ध रहेर सामाजिक सेवामा सक्रिय रहनुभएको छ ।
बाल अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई ‘उत्कृष्ट बाल अधिकारकर्मी’ पुरस्कारबाट सम्मान गरिएको थियो । साथै जिल्लामै उत्कृष्ट मानव अधिकारकर्मी पुरस्कारको सुरुवात गर्दै अधिकारकर्मीलाई प्रोत्साहन गर्ने पहल पनि उहाँकै नेतृत्वमा गरिएको बताइन्छ ।
द्वन्द्वकालमा शान्ति स्थापनाका लागि सहजीकरण गर्दै द्वन्द्व प्रभावित समुदायको पुनर्मिलनमा भूमिका खेल्नु भएका थापाले सडक निर्माण, जैविक बाँध, पोखरी निर्माण तथा वातावरण संरक्षणका विभिन्न परियोजनामा समेत काम गर्नु भएकाे छ ।
नेदरल्यान्ड लेप्रोसी रिलिफ (NLR) र करुणा फाउन्डेसनको सहयोगमा अपाङ्गता नियन्त्रण तथा रोकथाम कार्यक्रम बेलकामा सञ्चालन गराउन उहाँले महत्वपूर्ण पहल गर्नुभएको थियो । उहाँ लैङ्गिक समानता तथा समावेशीकरण नीति निर्माणका अभियन्ताका रूपमा पनि चिनिनुहुन्छ ।
जेष्ठ नागरिकका लागि चौतारी निर्माण, आयुर्वेदिक उपचार केन्द्र स्थापना, प्रारम्भिक जेष्ठ नागरिक गृह निर्माण तथा कोरोना महामारीका बेला अक्सिजन प्लान्ट निर्माणजस्ता कार्य उहाँका उल्लेखनीय उपलब्धि मानिन्छन् । उहाँकाे पालामा ‘जहाँ अभाव, त्यहाँ नगर’ कार्यक्रममार्फत सयौँ विपन्न परिवारलाई राहत तथा उद्धार गर्दै ४ सयभन्दा बढी घरधुरीमा खरको छाना हटाएर कर्कटपाता लगाउने काम पनि गरिएको थियो ।
त्यस्तै नागरिक सहायता कक्ष स्थापना गरी अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती महिला लगायतलाई सेवा पुर्याइएको थियाे । बिरामी, आगलागी पीडित, बाढी प्रभावित र हिंसामा परेकाहरूका लागि आर्थिक संकलन गरी उपचार तथा उद्धारमा उहाँले सहयाेग गर्दै आउनु भएकाे छ ।
समाजसेवीका रूपमा परिचित दुर्गाकुमार थापा (स्वस्ती) ले आगामी दिनमा उदयपुरको सामाजिक विकास र रुपान्तरणमा अझै थप योगदान पुर्याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्