हेटौँडा, माघ १४ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट सूर्य चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहनुभएका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी गतिविधिलाई तीव्र पार्नुभएको छ ।
उहाँले मतदाता, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी सन्देश प्रवाह गरिरहनुभएको छ । भेटघाटका क्रममा उम्मेदवार बर्तौलाले प्रतिनिधि सभाको मूल दायित्व नीति निर्माण भएको स्पष्ट पार्दै नीतिगत हस्तक्षेपमार्फत जनताका जटिल समस्या समाधान गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो । “सांसद भनेको नीति बनाउने जिम्मेवार व्यक्ति हो, नीति सही भयो भने समस्याको समाधान आफैँ आउँछ,” उहाँले भन्नुभयो ।
उहाँले आफ्नो ३२ महिनाको संसदीय अनुभव सुनाउँदै मध्यवर्ती क्षेत्रका जंगली जनावर र मानवबीच देखिँदै आएको द्वन्द्व तथा भूमिहीन नागरिकको समस्या समाधानका लागि कानुनी तहमा पहल गरेको दाबी गर्नुभयो ।
उम्मेदवार बर्तौलाका अनुसार मध्यवर्ती क्षेत्र ऐन र वन ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगे पनि संसद विघटनका कारण प्रक्रिया अलपत्र परेको थियो । “त्यो अधुरो कामलाई पूरा गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ,” उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले पूर्वी राप्ती नदी, चौराह खोला र मूल खोलालगायतका स्थानमा तटबन्धन निर्माणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी पनि गर्नुभयो । आफूलाई सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गर्दै बर्तौलाले राजनीति शास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेको तथा कानुनमा स्नातक भई हाल वकालतसमेत गर्दै आएको अनुभवले नीति निर्माण र कार्यान्वयनमा आफूलाई अझ बलियो बनाएको बताउनुभयो ।
निर्वाचन परिचालन कमिटीका सहसंयोजक तथा संविधान सभा सदस्य राजाराम स्याङ्तानले बर्तौलाको अभियान जनस्तरमा उत्साहजनक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । “हामी जितको झण्डा गाडेपछि मात्र विश्राम गर्ने संकल्पका साथ अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्