जनता टाइम्स

१५ माघ २०८२, बिहीबार ११:१८

प्रधानन्यायाधीशले समय नदिएपछि कांग्रेस पूर्व सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित


काठमाडौं, माघ १५ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भेटका लागि समय दिन नसकेपछि नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ।

प्रधानन्यायाधीश राउतको समय नमिलेकै कारण आजका लागि तय गरिएको कांग्रेस नेताहरूको सर्वोच्च जाने कार्यक्रम रोकिएको हो। कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित गरिएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘डेलिगेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको ब्यहोरा जानकारी गराइन्छ।’

प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोनमार्फत आजका लागि तय भएको भेटघाटको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी आएपछि कांग्रेसको टोलीको भेट पनि स्थगित भएको हो। यसअघि कांग्रेसको टोली आज बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको थियो।

उल्लेखनीय छ, कांग्रेसका ६५ जना पूर्व सांसदहरूले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर, सर्वोच्चले अहिलेसम्म उक्त रिटको सुनुवाइ सुरु नगरेको भन्दै दबाब दिन कांग्रेसको टोली अदालत जान लागेको थियो।