काठमाडौं, माघ १५ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाएको बताउनुभएको छ। उहाँले अब कांग्रेसका सबै मतदाताले रुख चिन्हमा मतदान गर्न पाउने अवस्था बनेको स्पष्ट पार्नुभयो।
नेपाली कांग्रेस रामेछापको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उपसभापति शर्माले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६ स्थानमा कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको जानकारी दिनुभयो। उहाँले अघिल्लो निर्वाचनमा गठबन्धनको कारण कतिपय स्थानमा कांग्रेसका मतदाताले आफ्नै चुनाव चिन्ह रुखमा मतदान गर्न नपाएको उल्लेख गर्दै यसपटक त्यो समस्या अन्त्य भएको बताउनुभयो।
‘अघिल्लो चुनावमा गठबन्धन हुँदा कतिपय ठाउँमा कांग्रेसका मतदाताले रुखमा भोट हाल्न पाउनुभएन, अहिले त्यो समस्या अन्त्य भएको छ,’ उहाँले भन्नुभयो।
उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर टिकट वितरण गरिएको दाबी गर्दै कांग्रेसले सबै ठाउँमा आफ्नै उम्मेदवार दर्ता गराएको बताउनुभयो। ‘सबैले रुख चिन्हमा भोट हाल्न पाउने गरी उम्मेदवारी दर्ता गराएका छौँ,’ उहाँले स्पष्ट पार्नुभयो।
कांग्रेसले आगामी निर्वाचनमा संगठनलाई थप मजबुत बनाउँदै जनताको समर्थन लिएर प्रतिस्पर्धामा उत्रिएको उहाँको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्