काठमाडौं, माघ १५। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको पार्टी एकताको प्रस्तावलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ठाडै अस्विकार गर्नु भएकाे छ। उहाँले सिद्धान्त, कार्यदिशा र उद्देश्य नमिलेसँग एकता सम्भव नहुने स्पष्ट पार्दै एकताको चर्चा केवल पुरानो र असफल राजनीतिक ‘हुइयाँ’ मात्र भएको टिप्पणी गर्नुभएको छ।
महासचिव विप्लवले कम्युनिष्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै तीन मुख्य आधार प्रस्तुत गर्नुभयो। उहाँका अनुसार पहिलो, सबै कम्युनिष्ट पार्टीहरूबीच मोर्चा र सहकार्य आवश्यक छ। दोस्रो, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने शक्तिसँग मात्र एकता सम्भव छ। तेस्रो, मालेमावादी पार्टीको सुदृढीकरण अपरिहार्य छ । उहाँले भन्नुभयो, ‘सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य हुनुपर्छ तर सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य नमिलेसँग एकता हुँदैन।’
महासचिव विप्लवले चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीहरूले एकताको कुरा गर्नु कम्युनिष्ट आन्दोलनमा प्रयोग भइसकेको बासी र असफल जालझेल मात्र भएको टिप्पणि गर्नु भएकाे छ । ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिष्ट आन्दोलनमा प्रयोग गर्दा–गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी हुइयाँ मात्र हो,’ उहाँले भन्नुभयो।
महासचिव विप्लवले यस्तो भ्रममा केवल विचार मरेका, आश गुमाएका र आफ्नै इतिहासले दबिएका कमजोरहरू मात्र पर्न सक्ने उल्लेख गर्नुभएकाे छ । उहाँले माओवादी पार्टी नै अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर रहेको दाबी गर्दै एकता, अग्रगमन र सम्भावनाको केन्द्र त्यही भएको बताउनुभएकाे छ । ‘अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र हो, आउँदो भविष्यले अवश्य सावित गर्नेछ,’ महासचिव विप्लवले उल्लेख गर्नुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्